बंगुरपालनले केहीलाई लाभ,धेरैको विलाप

बंगुरपालनले केहीलाई लाभ,धेरैको विलाप

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ मा वर्षौंदेखि बंगुरपालन हुँदै आएको छ । जलढङ्ग ढोका भन्ज्याङ् मार्गस्थित थापा चोकमा यसअघि व्यावसायिकरुपमै बंगुरपालन गर्ने गरिएको थियो । तर, अहिले गुजारा चलाउनका लागि किसानहरुले निर्वाहमुखी व्यवसायका रुपमा बंगुर पाल्ने गरेका हुन् ।

करिब ४० देखि ५० रोपनी जग्गा भाडामा लिएर यहाँका करिब ५५ किसान वर्षांैदेखि बंगुर पालनमा जोडिएको छ । स्थानीयका अनुसार प्रतिकिसानले ३५ वटासम्म बंगुर पालेका छन् । वर्षको प्रतिरोपनी ४० देखि ५० हजार रुपैयाँ तिरेर जग्गा भाडामा लिई बंगुरपालन गरिरहेका उनीहरुको दैनिकी यसैबाट चलिरहेको छ ।

तर, पछिल्लो समय बस्ती विकास हुँदै जाँदा किसानहरु विस्थापित हुनुपर्ने अवस्था आइलागेको छ । वरपर घर बनाएर बस्न आएकाहरुले तत्काल बंगुर हटाउन दबाब दिन थालेपछि बिलखबन्दमा परेका उनीहरु के गर्ने अलमलमा परेका छन् । बस्ती नजिकै बंगुरपालन हुँदा दुर्गन्ध फैलिएको र खानेपानी प्रदुषित भएकाले किसानहरुलाई त्यहाँबाट हटाउन स्थानीयले वडा कार्यालय गुहारेको महिनौं भइसकेको छ ।

स्थानीयले लिखित उजुरी नै हालेर बंगुरपालन हटाउन माग गरेपछि वडाले पनि बंगुर नपाल्न पटक–पटक मौखिक आदेश गरेको एक किसानले बताए । बाहिरबाट बसाइ सरेर आएकाले गर्दा जीविकोपार्जन नै धरापमा परेको गुनासो गर्दै उनले भने, ‘वडामा पटक–पटक बैठक बस्दा पनि कुनै निश्कर्ष निस्किएको छैन, हाम्रो पेशा, व्यवसाय जे भने पनि यहि हो । अब कसरी गुजारा चलाउने सोच्नै सकेको छैन ।’

उनीहरुमाथि मदिरा पिएर होहल्ला गर्ने गरेको पनि स्थानीयको आरोप छ । तर, किसानहरुको भने आफ्नै तर्क छ । धार्मिक र सांस्कृतिक रुपमा प्रयोग गर्नका लागि थोरै मात्रामा मदिरा बनाएको स्वीकार गर्दै एक किसानले भने, ‘व्यावसायिक हिसाबले बेच्नका लागि रक्सी बनाएको होइन, अनि रक्सी खाएर होहल्ला गरेको कुरा पनि गलत हो ।’

गरिब भनेर हेपिएको महशुस गरेका अर्का किसान भन्छन्, ‘जन्मँदा, मर्दा, बिहे, पास्नी जतिबेला पनि चाहिने भएकाले थोरै आफ्नो लागि बनाउने गरेको हो । बेच्ने गरेका छैनौं । रक्सी खाएर होहल्ला गर्ने गरेको आरोप पनि गलत हो । बहिरबाट आएर यहाँ भाडामा बसेकाहरुले हेपेर यस्तो आरोप लगाएका हुन् ।’

बंगुरले दुर्गन्ध फैलाएको भन्ने आरोपको पनि किसानहरुले खण्डन गरे । गाई भैँसी र कुखुराको पनि मलमुत्र गनाउने भएकाले बंगुरको मलमूत्र गन्हायो भनेर पेशा नै गर्न नदिनु आफूहरुमाथिको थिचोमिचो भएको उनीहरुको भनाइ छ ।

बंगुर सरसफाई समितिका अध्यक्ष हरिचन्द राईले युवा शक्ति पलायन भइरहेका बेला देशमै काम गर्न खोज्दा सरकार बाधक बनेको गुनासो गरे । सरकारलाई कर तिरेर फर्म दर्ता गरि बिना रोकतोक व्यवस्थित तवरले बंगुरपालन गर्न सरकारले सहयोगी भूमिका खेल्नुपर्नेमा त्यसो हुन् नसकेको दुःखेसो पोखे । तर, सरकारको सहयोग नपाउने बुझिसकेका उनी भन्छन्, ‘जग्गा धनीसँगको सम्झौता सकिएपछि निस्किएर जान्छौं ।’

आफूहरुको थुप्रै लगानी परिसकेको र अहिले तत्काल अर्को विकल्पसमेत नभएकाले अहिले नै निस्किएर जान भने नसकिने राईको भनाइ छ । भन्छन्, ‘आउँदो २०८२ सालमा हाम्रो जग्गा धनीसँगको सम्झौता सकिन्छ । त्यसपछि निस्किएर जान्छौं । अहिले पनि सम्झौता सकिएकाहरु गइसकेका छन् ।’ अहिले नै निस्किनुपर्ने भए सरकारले विकल्प दिनुपर्ने किसानहरुको साझा माग छ । ‘कोरोनाको बेला घाटा भएको लाखौं रकम दिए हामि निस्किएर जान्छौँ’, एक किसानले भने ।

तर, वडाध्यक्ष श्रीकुमार श्रेष्ठ भने उनीहरुका कुरा सुन्ने पक्षमा छैनन् । उनको एउटै अडान छ– किसानले बंगुरपालन छोड्नुपर्छ । ‘किन दिने विकल्प ? हामीले उनीहरुसँग सम्झौता गरेको छ र !’, गैरजिम्मेवार जवाफ दिँदै उनले भने, चुनावपछिको छ महिनाभित्र हटाइन्छ । सहजै हट्न नमाने प्रहरी लगाएर निकाल्ने उनले चेतावनीसमेत दिए ।

बंगुरपालक किसानको मर्कामा गोकर्णेश्वर नगरपालिकामा मेयर सन्तोष चालिसेले भने सहानुभूति देखाएका छन् । बस्तीबाट बंगुर विस्थापित गर्ने नाममा यथार्थ नबुझी र विकल्प नदिइ हतार गर्न नहुने उनको भनाइ छ । मेयर चालिसे भन्छन्, ‘यसलाई लिएर पालिकामा निवेदन परेको छैन । निवेदन परे पनि यो व्यवसाय गरिरहेकाहरुलाई अर्को विकल्प नदिएसम्म हटाउन मिल्दैन । यो व्यवसाय बन्द गरौँ र यसको विकल्पमा यो गरौँ भन्ने हुनुपर्यो नि !’ हटाउनै पर्ने भए आवश्यक प्रक्रिया पूरा गरेर मात्र निर्णय गरिने उनले बताए ।

यसअघि नगरपालिकाले सडकबाट ठेलागाडा हटाउने प्रक्रिया अगाडि बढाउँदा व्यवसायीले पोखेका पीडा स्मरण गर्दै मेयर चालिसेले किसानलाई त्यसो हुन नदिने प्रतिबद्धता जनाए । नगरपालिकाका लागि सबै नागरिक समान हुने बताउँदै उनले उचित विकल्प निकालेर उचित कदम चालिने दृढता पनि व्यक्त गरे ।’ त्यसै होहल्ला गरेर कसैले भनेकै भरमा नगरपालिकाले निर्णय गर्दैन’, मेयर चालिसेले भने ।

यता, पशु विकास शाखाका अधिकृत शिवराम श्रेष्ठले काठमाडौ उपत्यकामा व्यावसायिक बंगुरपालन गर्न कानुनले बन्देज गरेको भए पनि किसानले आफ्ना लागि पाल्न पाउने बताए । उनका अनुसार बस्तीभन्दा टाढा, पानी नभएको र फोहोर व्यवस्थापन हुने ठाउँमा शाखाले बंगुरपालन गर्न दिएको तर जनगुनासो आए समय दिएर विकल्प खोज्न आग्रह गर्ने उनको भनाइ छ ।

उनी भन्छन् ‘जनगुनासो आए केही महिना वा वर्षको समय दिएर, कागज गराएर निकाल्ने हो । अब जनगुनासो त आइराखेको छ । तर, विकल्प दिन नसक्दा समय लागेको हो । उनीहरुको परिवार छ, लगानी छ यसै निकाल्न मिलेन । छलफल भइरहेको छ, कुन आधारमा जाने र के विकल्प निकाल्ने निधो भएपछि अरु कुरा हुन्छ ।’

टिप्पणीहरू