महिला उपप्रमुखहरुको गुनासो : हामीलाई भनेजसरी काम गर्न दिइएन

महिला उपप्रमुखहरुको गुनासो : हामीलाई भनेजसरी काम गर्न दिइएन

महिलाप्रतिको दृष्टिकोण समाजमा अझै पनि फेरिन सकेको छैन । पालिकामा प्रमुख, उपप्रमुखदेखि राष्ट्रपति नै महिला भए पनि महिलाले केहि गर्न सक्छन् भन्ने धेरैलाई अझ विश्वास छैन । घरभित्रको महिलाप्रतिको हेपाहा प्रवृत्ति बाहिर उपमेयर भएका महिलाप्रति पनि देखिँदै आएको छ ।

स्थानीय तहको निर्वाचन आउँदो बैशाख ३० गते हुँदै छ । त्यसअघि नै उम्मेदवार बन्न चाहने पालिका प्रमुख तथा उपप्रमुखहरुको पाच वर्षे कायकाल पनि सकिँदै छ । उनीहरुको कामको समीक्षा गर्ने बेला भएको छ । तर, चुनाव नजिकिँदै गर्दा उपप्रमुख तथा उपाध्यक्षहरुले भने आफूहरुले भनेजसरी काम गर्न नपाएको गुनासो गर्न थालेका छन् । उनीहरुले आफूहरुलाई दिइएको कामकाज इमानदारितापूर्वक गरे पनि पालिकाभित्रैबाट धेरै बाधा अड्चन आएको भनेर मुखै खोल्न थालेका छन् ।

धेरैले आफ्नो कार्यकाल सकिने बेला भएका कारण बोल्न अघि सरे पनि अलि पहिलेसम्म यसबारे बोल्न पनि नसकिने अवस्था रहेको बताएका छन् । अघिकांश उपमेयर महिला रहेका बेला आफूहरु महिला भएकै कारण हेपिनु परेको उनीहरुको अनुभव छ । मेयर र उपमेयर एउटै पार्टीको भएका स्थानीय तहमा भने उपमेयरले पार्टीका कारण आफूहरु चुपचाप बस्न बाध्य रहेको उल्लेख गरेका छन् । जब चुनौती आउँछ तब महिलालाई आगाडि बढाउने र जस पाइने कुरामा पुरुषहरु आगाडि बढ्ने गरेको उपमेयरहरुको आरोप छ ।

यसै विषयमा कुरा गर्दै विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले कानुन बनाउँदै गर्दा प्रदेशसँग बाझिएका कारण पनि सुरुको एक वर्ष राम्रोसँग काम गर्न नपाइएको अनुभव बाँडनुभयो । आफूलाई दिइएको काम इमानदारितापूर्वक गरेको तर पुरुषवादी सोच हावी हुँदा आफूलाई अपठ्यारो परेको उहाँका धेरै उदाहरण छन् ।

उहाँ भन्नुहुन्छ, ‘काम गर्न खोज्दा पनि धेरै अप्ठेरो भोग्नुपर्यो । अझ पुरुषवादी सोच हावी हुँदा गाह्रो परेको हो । मेयरले मैले मात्रै गर्नुपर्छ भन्ने सोचले गर्दा पनि मैले सकेको कामसमेत गर्न पाइएन । मलाई विकास निमार्णमा के कति लाग्छ, कानुन नपढेको हुँदा कानुनी बिषयमा धेरै थाहा नहोला तर पनि सबै जिम्मेवारी पूरा गरेँ । सोचे जति भएन ।’

उपमेयर कार्कीले ज्यान फालेर काम गरे पनि जस नपाएको उल्लेख गर्नुभयो । उहाका अनुसार मेयर र आफू एउटै पार्टीको भए पनि मेयरले आफूलाई हेप्न खोज्दा र कहिँ कतै काममा बाधा पुर्याउँदा पार्टीमा यसबारे आफूले कुरा राखेको तर पनि केही सुधार भएन ।

उहाँले थप्नु भयो, ‘काममा बाधा आउँदा र काम गर्न नदिँदा यसबारे चुप लागेर बसिनँ । बोर्ड, परिषदमा कुरा उठाएँ । एउटै पार्टीको भनेर भएन, गल्ती त गल्ती नै हो ।’

उपमेयर कार्कीले पार्टीले टिकट दिए मेयरमा उठ्ने बताउदै पार्टीले पुरुषलाई मात्र मेयरमा उठ्न टिकट दिएर महिलालाई उपमेयर मात्र दिने गरेको यसअघिको उदाहरण दिनुभयो । त्यसैले पार्टीबाट नै महिलामाथि गरिने हेपाहा प्रवृत्तिको अन्त्य हुनु पर्नेमा उहाँको जोड छ ।

यस्तै विषयमा पहिलेबाट नै मुख खोलेर मेयरले आफ्नो काममा बाधा पुर्याएको भन्दै आएकी जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले बाहिर हेर्दा उपमेयरलाई धेरै अधिकार दिइएको देखिए पनि संविधान राम्रोसँग पढे कुनै अघिकार नभएको बताउनुभयो ।

उहाँ भन्नु हुन्छ, ‘हेर्दा त सबैलाई उपमेयरलाई धेरै अधिकार छ जस्तो लाग्छ । तर संविधान पल्टाएर हेर्न हो भने कुनै अधिकार नै छैन । मेयरलाई एकल अधिकार छ । भन्दा त मिलेर बहुमत पुर्याएर गर्न र बहुमत नपुगेको खण्डमा मेयरले एक्लै पनि गर्न सक्ने भनेको छ । मेयरलाई के मतलब, बहुमत नजुटाइ एक्लै काम गर्छन् ।’

उपमेयर मिश्रले मेयरले कतिपय समिति बनाउनु पर्ने हुँदा र यसबारे मेयरले चासो नदेखाउँदा पनि आफूले धेरै समस्या भोग्नु परेको जानकारी दिनु भयो ।

उता मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीले मेयरको हस्तक्षेपले उपमेयरको अधिकार आफूले धेरै प्रयोग गर्न नपाएको गुनासो पोख्नुभयो । उहाँले आफ्नो पहलमा विभिन्न योजनाहरु आएको तर मेयरले हस्तक्षेप मात्रै नगरेको उल्टै बाधक बनेको आरोपसमेत लगाउनुभयो ।

उपमेयर भण्डारी भन्नु हुन्छ, ‘मेरो पहलमा विभिन्न योजनाहरु आए पनि मेयरले भित्र भित्रै मान्छेहरुलाई उक्साएर बाधक बन्नुभयो । उहाँले कार्यपालिकामा छलफल नगरेर आफूखुशी गर्नुभयो । पितृसत्तात्मक सोच र निरंकुश प्रवृत्ति धेरै भयो । केही काम गर्यो भने अपजस नै खुवाउने ।’

उपमेयर भण्डारीले प्रमुखमा उठ्न धेरै खर्च गर्नु पर्ने भएकाले तीन तहको सरकारका कारण धेरै काम हुन नसकेको अनुभव सुनाउनुभयो । अहिलेको अवस्थालाई हेर्दा वडाबाट सबै निर्वाचित हुनुपर्ने र काम गर्न नसकेको खण्डमा नगरसभाबाट हटाइने व्यवस्था राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले थप्नु भयो, ‘संविधान संशोधन गरेर स्थानीय र संघीय सरकार मात्र राखियो भने काम धेरै हुन्छ । तीन तहको सरकार हँुदा खर्चिलो भयो तर काम भएन । दिउँसोको भन्दा रात्रि भोज धेरै, भ्रस्टाचार धेरै भएको पाइयो । समान रुपमा काम गर्न कार्यपालिकालाई सानो बनाएर विज्ञहरुलाई त्यहाँ समावेश गर्नुपर्छ । वडाबाट सबै निर्वाचित भएर आएपछि काम गर्न नसके नगरसभाबाट हटाउने व्यवस्था गर्नुपर्ने देखियो ।’

उहाँले महिला भएपछि पुरुषले यसै हेप्ने र उपमेयर अर्को पार्टीको हुँदा मेयरले धेरै हेपेको हुन सक्ने बताउदै उपमेयरलाई विवादित काममा धेरै जिम्मा दिइएको उल्लेख गर्नुभयो ।

पूर्वका उपमेयरले यसो भनिरहँदा नेपालगन्ज उपमहानगर पालिकाकी उपमेयर उमा थापा मगरले भने उपमेयरको अधिकार प्राप्त गर्न पहिले उसको क्षमता विकास हुनुपर्ने सुझाव दिनुहुन्छ । समाज यसै पितृसत्तात्मक सोचले ग्रसित भएका कारण कहिँ कतै आफूले पनि त्यस्तो भोगेको तर आफू सँधै आफ्नो काम र अधिकारमा अडिग रहेर अगाडि बढेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘पहिलो कुरा त उपमेयरको अधिकार प्राप्त गर्न पदमा उसको क्षमता आवश्यक छ । त्यसपछि काम गर्ने वातावारण पनि हुनुपर्यो । हाम्रो समाज पितृसत्तात्मक सोचले ग्रसित भएका कारण मैले पनि यस्तो पाएँ । यो भनेको समाजको संरचना हावी भाको हो । तर पनि काम र अधिकारमा अडिग रहेर अगाडि बढेँ ।’

उपमेयर थापाले कानुनले उपमेयरलाई विवाद मिलाउने, राजश्वको पैसा उठाउने जस्ता विवादित काम धेरै दिएर जनमुखी काम गर्न नदिएको स्वीकार्नुभयो । मेयरलाई भने खर्च गर्ने अधिकार दिएको पनि उहाँले जानकारी दिनुभयो । तर, जे जति भए पनि मेयर र उपमेयर सबैको पहिलो पटकको अभ्यास भएको हुँदा गलत भन्न नमिल्ने बताउँदै उहाँले मेयरसँग आफूले समन्वय र सहकार्य गरेरै अघि बढेको अनुभव सुनाउनुभएको छ ।

धेरै महिला उपमेयरले आफ्नो मत राखि रहँदा यता रेसुंगा नगरपालिकाकी उपमेयर सीता भण्डारीले पुरुष प्रधान समाजमा यस्तो भइरहने र यसलाई सहज रुपमा लिनु पर्ने बताउनु भयो ।

उपमेयर भण्डारी भन्नु हुन्छ, ‘पुरुषप्रधान समाजमा यस्तो सँधै हुन्छ । अब यसलाई सहज रुपमा लिनु पर्ने अवस्था छ । कार्यकालको अन्तिममा आएर यस विषयमा बोलेर पनि केही काम छैन ।’

टिप्पणीहरू