रुपन्देहीमा म्यादी प्रहरी बन्न पचपन्न सय बढीले दिए परीक्षा

रुपन्देहीमा म्यादी प्रहरी बन्न पचपन्न सय बढीले दिए परीक्षा

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढेको छ । निर्वाचनका लागि उम्मेदवारी घोषणा,घरदैलो कार्यक्रम,मत संख्याको अनुमान, प्रचारप्रसार लगायतका कार्य पार्टी तथा उम्मेदवारका तर्फबाट हुन थालेका छन् । चोक चोकमा यसपालि भोट कसलाई दिने ? हाम्रोलाई दाेहोर्याउने वा राम्रो ल्याउने भन्ने बहस सर्वसाधारणमा पनि व्यापकरुपमा चलेको छ ।

निर्वाचन मुखमा आइपुग्दा कानुन पालना गराउने निकायहरु निर्वाचन आयोग तथा नेपाल प्रहरी पनि व्यस्त देखिन्छन् । आयोगले चुनावमा स्वस्थ प्रतिस्पर्धा होस् भन्दै यसअघि नै आचारसंहिता जारी गरेको छ ।

यता,रुपन्देही प्रहरीले भने चुनावमा आयोगले जारी गरेको आचारसंहिताको अक्षरश: पालना गर्ने बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले निर्वाचनमा हुनसक्ने संभावित घटनाप्रति आफूहरु सजग रहेको जानकारी दिनुभयो । हाल नेपाल प्रहरी म्यादी प्रहरीको छनोटमा जुटेको छ । आज रुपन्देहीमा २ हजार ५ सय २१ पदका लागि ५ हजार ६ सय २३ जनाले परीक्षा दिएका छन् । कूल ९ हजार ४ सय २३ जनाले म्यादीमा आवेदन दिएपनि ३ हजार ८ सय २० जना शारीरिक परिक्षणबाटै बाहिरिएका थिए ।

प्रहरी प्रवक्ता पौडेलका अनुसार २२ गते नतिजा सार्वजनिक गर्नुपर्ने आदेश छ । तर, २२ गते नतिजा सार्वजनिक गर्न नसकेमा एक दिन म्याद थपेर २३ गते नतिजा निकाल्न सकिने व्यवस्था छ । म्यादी प्रहरीको छनोट लिखित र अन्तर्वार्ताको नतिजाका आधारमा हुनेछ । लिखित परिक्षाको नतिजा आएपछि अन्तर्वार्ता हुने छ ।

टिप्पणीहरू