बिगार्ने मुहान, चोट व्यहोर्ने चुहान

नेपाल कम्युनिष्ट पार्टी र कांग्रेस शीर्ष नेताबीच मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा बैठक बसिरहेको थियो । प्रधानमन्त्री केपी ओली गोकुल बाँस्कोटा, प्रचण्ड कृष्णबहादुर महरा र शेरबहादुर देउवा विजय गच्छदारको पक्षमा जबर्जस्त उभिएपछि बैठक भाँडियो । बैठकले ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’को रूप धारण गरेपछि चलाख प्रधानमन्त्री ओलीले बैठकलाई जाँड पार्टीमा रूपान्तरण गरिदिए । अनि त बैठकको दृश्य एकाएक रसरङमा परिवर्तन भयो ।

शेरबहादुर देउवा : के भने देखिनलाई मेरा बा यस्ता बहादुरहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थो ।

पुष्पकमल दाहाल : तपाईंका बा के बहादुर मेरा बाको त कुरै बेग्लै । पानी ट्यांकीमा पसेका हाम्रा बा धाराको टुटीबाट निस्कनुहुन्थ्यो ।

केपी ओली : तपाईंहरूका कुरामा पटक्कै दम भएजस्तो लागेन । लौ सुन्नुस् मेरा बालाई एक पटक यस्तो भुंग्रे ज्वरो आयो कि मेरी आमा बाको गालामा हरियो मकै पोलेर हामीलाई ख्वाउनुहुन्थ्यो ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ । तर, बदलिएको व्यवस्थाका नबदलिएका नेताहरूले जिन्दगीभर आफ्नो नामबाहेक अरू केही साँचो बताउने भएनन् । यी प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकहरूले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ । पहिला–पहिला सरकारी बैंकमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो । नेपालका हरेक निकायका मुखियाले अघोषित रूपमा नोट गन्न जान्ने कारोबारी राखेका हुन्छन् । यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुला सत्य हो । पुलिसको चौकी इन्चार्ज–आईजीपी, डिठ्ठा–प्रधानन्यायाधीश, वडासदस्य–प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन् । काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन् । गोकुल बाँस्कोटा ओलीका नोट गन्न जान्ने प्रतिनिधि हुन् । प्रचण्डका कृष्णबहादुर महरा र शेरबहादुर देउवाका विमलेन्द्र निधि यही कोटीका पात्र हुन् । यिनीहरू महादेवको घाँटीमा बेरिएको सर्पजस्ता हुनुको कारण स्वामीभक्ति नै हो । जब एउटा वडासदस्य पदमा बाजी मार्न लाखौंको सौदा गर्नुपर्छ भने देशभरिका कार्यकर्ताको मुखिया हुने काम नेताका लागि सजिलो छैन । राष्ट्रिय पार्टीको हेडसर हुनु सानोतिनो राष्ट्र बैंकको शाखाले चलाउने बराबरको आर्थिक औकात राख्नै पर्छ । नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको शासक बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसँग गाँसिएको छ । बिहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो । ओली, दाहाल र देउवा यस्ता पात्र हुन्, जो आफ्नो ताज बचाउन अर्बमा सौदा खेल्न सक्छन् । अर्बाैं हान्न सक्छन् । करोडौं बाँड्न सक्छन् । ती पार्टीका अरू नेतामा यो कौशलता शून्य छ । त्यसैले रोग, भोक र शोकले जति गाँजे पनि उनीहरूको साम्राज्य एकछत्र छ । माधव नेपालको इतिहास बैंक जागिरेबाट शुरु भए पनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए । रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब गर्नै जान्दैन ।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित÷अघोषित शैलीमा सघाएका छन् । यो महाभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । जसरी फलाम आपूmभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्पm लान यहीँका गतिविधि जिम्मेवार छन् । अरूलाई दोष दिनु आफ्नो कमजोरी छोप्ने धृष्टतासिवाय केही होइन । इतिहास साक्षी छ– राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए । त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाइ हुन्थ्यो । देशभर भारतीय मुद्राको विनिमय सहज थियो । प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए । प्रधानन्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो । उत्तरी चेकपोष्टमा भारतीय सुरक्षाकर्मी राखिएका थिए । प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए । अरू त अरू मन्त्रिपरिषद्को बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो ।

अहिले यी निकायमा नेपालीको प्रतिनिधित्व छ । सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन् । देश-विदेश पढेका उम्दा प्रतिभाहरू राष्ट्रसेवक छन् । भाषा, साहित्य, संस्कृति समृद्ध छ । चेतनाको स्तर कोहीभन्दा कम छैन । तर, दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित अवस्थालाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ । तिनै भारतीय भनिने हरिप्रसाद प्रधानले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजायँ सुनाएका थिए । चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए । विवाहित छोरीलाई सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पत्तिको हकवाला बनाए । काम गर्ने नागरिकताले नभएर नियतले हो । सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन । बरु कानले हेरेर न्याय दिने संवेदनशील ठाउँका न्यायमूर्तिहरूको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो । न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले बिरुवा हुर्काउने नर्सरीवालाहरू नै शिकार बन्ने निश्चित छ । त्यो बेला नीलकण्ठ विष आपूmले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।

राजनीतिभित्र पसेको राक्षसी सोचका कारण आज हरेक सर्वसाधारण दिनमा दर्जनौं पटक मरेर बाँच्न बाध्य छन् । कलेजका प्राध्यापक कुटिएका छन् । हाकिमलाई पियनले लघारेका छन् । प्राध्यापकहरू आफ्ना छोरा उमेरका तिते भुराको अपमान सहन बाध्य छन् । देउता खुसी पारेर पेट भर्ने पुजारी देउतैको मूर्तिको मोलमोलाइमा उम्लिएका छन् । चालकहरू पाखा लागेका छन्, हरेक गाडीको स्टेयरिङ खलाँसीले समाएको छ । अस्पतालमा रोगी भर्नाका लागि समेत सोर्स लगाउनुपर्छ । जताततै न्याय मरेको छ । सत्यको पक्षमा बोल्नु भनेको अपराध गर्नु हो भन्ने बुझाइले आम मानिसमा घर गर्दै गएको छ । अबोलाको पीडा बोल्ने सञ्चार जगत् समाचार कम, त्रास बाँड्न व्यस्त छ । त्यही भएर देशका ठूला मिडिया हाउसभन्दा युटुब चलाउनेहरूमाथि जनताको भरोसा बढ्दो छ । केपी ओलीले उर्दी लगाउँदा सय रुपियाँ नझिक्नेहरू भाग्य न्यौपाने, कृष्ण कँडेल, शिशिर भण्डारीजस्ता युटुबमार्फत सूचना सम्प्रेषण गर्नेहरूलाई लाखौंको पोको जिम्मा लगाउन थालेका छन् । हो, आत्मनिरीक्षणको खाँचो यहीँ छ । पहिला सित्तैमा समोसा खान पत्रकार बन्नेहरू थिए भने अहिले त्यो गोरखधन्दामा अनुवाद भएको छ । कार्यकर्तालाई बेइमानीको बरदान दिएर आपूm भगवान् शिवको कोटीमा पुगेको भ्रममा मख्ख परेका नेता आखिर भस्मासुर ज्यादती भोग्न बाध्य छन् ।

अरू त अरू राजनीतिक अराजकताको प्रभाव नेपाली भाषामा पनि परेको छ । प्राज्ञिक समुदायको विशिष्ट थलो मानिने प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत् शब्दकोषबाट धेरै शब्दावलीको चिरहरण भएको छ । कुखुराको फुल र गुलाफको फूल समान बनाइएको छ । एक वर्षअघि त्यही शिक्षकले पढाएको नियम घोकेका विद्यार्थी एक वर्षपछि सरले नियम बदल्दा रणभूल्ल परेका छन् । यसरी खेलाडी नालायक भएको दोष खेलको नियम फेरेर कमजोरी लुकाउने नौलो संस्कृति हावी बन्दै गएको छ । जब नेताहरू पुलिसको सुरक्षा र साइरनमा आपूmलाई अभ्यस्त गराउँछन्, त्यो दिनदेखि उनीहरूको पतन शुरु भयो भनेर जाने हुन्छ । देशमा नैतिकता र राष्ट्रियताको चुरो कमजोर बन्दै गएपछि मानमर्दनका खेल स्वाभाविक बन्दै जान्छन् । नेता श्रद्धेय, बन्दनीय बन्न राष्ट्रियताको जग मजबुत हुनुपर्छ । चारवटा गणले छेकिएका राजा वीरेन्द्र र रानी क्षतविक्षत भएर मारिए । तर, उनीहरूको सुरक्षामा बसेकाहरूले प्रतिकारमा तिहारमा पड्काउने जत्रो पटाका पनि पड्काएनन् । आफ्नै आँखाले यस्तो कटु सत्य देखे÷भोगेका नेताका लागि एउटै मात्र जीवन सूत्र हो– नैतिकता । नेताले लोकप्रिय बन्नुपर्छ, चर्चित होइन । जनताका नेतालाई घरबास चाहिँदैन । उनीहरूलाई आफ्नो मजेत्रो ओढाएर जनताले चिसो तातोबाट बचाउँछन् । उरुग्वेका राष्ट्रपति जोस मुजिका यति सरल छन्, तीनवटा कुकुर र दुईजना पुलिसको सुरक्षामा बस्छन् । जीर्ण फार्म हाउसमा बास बस्ने उनी कुवाबाट आपैंm पानी भर्छन् । कपडा आपैंm धुन्छन् । फूलको खेती आपैंm गर्छन् । असल हुने मान्छे हो, पद होइन । अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तत्कालीन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिठीको खाम थुक लगाएर बन्द गर्थे । अरू देशमा पनि राजनीति अस्थिर छ । मान्छे मारिएका छन् । श्रीलंकामा डेढ लाख मानिस मारिए । अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन् । भिडन्त भएका छन् । तर, त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन । सानो देश भएर के भो, श्रीलंकाको शिक्षा एशियामै उत्कृष्ट छ । हाम्रोचाहिँ देशका सम्पूर्ण संयन्त्र खरानी पार्नै पर्ने, आखिर किन ?

महाभारत युद्ध सकिएपछि हस्तिनापुर राज्यमा शान्ति, अमन–चयनको अपेक्षा सबैमा थियो । युद्धमा मारिएकाहरूका लालाबाला, विधवाका पीडामा जित्नेहरूले मलमपट्टी लगाउलान् भन्ने भरोसा थियो । तर, परिस्थिति सोचेभन्दा ठ्याक्कै उल्टो भयो । युद्ध जितेकाहरू एकाएक वैराग्यको वशीभूत भए । युद्धपछि स्वर्णराज्य बनाउलान् भनी आशा गरिएका युधिष्ठिरमा एकान्तवासको इच्छा प्रवल बन्दै गयो । महाभारत युद्धका सूत्रधार श्रीकृष्ण युद्ध मैदानमा जसरी सुरिए, राज्य सञ्चालनमा भने मौन बसे । महारानी गान्धारीले घटनाको जिम्मेवार ठह¥याउँदै श्रीकृष्णलाई वंश विनाशको श्राप दिइन् । आश्चर्य वीर श्रीकृष्णले श्रापप्रति मौन स्वीकृति जनाए । उनी यो जञ्जाल र दायित्वबाट मुक्त हुने बाटोको खोजीमा थिए ।

आपैंmले मारेका कौरव पक्षीय योद्धा कर्ण सहोदर दाजु भएको रहस्य खुलेपछि युधिष्ठिर द्रवित भए । प्रचण्ड महाभारतका किंकर्तव्यविमूढ पाण्डव पात्रजस्तै बन्न पुगेका छन् । पार्टीका हुक्के, ढोके, चम्चे, छातेहरूको कुतर्के प्रतिवादलाई कान थुनेर उनको अन्तरात्माको आवाजको मूल्यांकन गर्ने हो भने उनी महाभारत अन्त्यपछिको श्रीकृष्णजस्तै जोक्कर भएका छन् । जसरी युगपुरुष श्रीकृष्ण गान्धारीको श्रापलाई समेत शिरोधार्य गर्ने अवस्थामा पुगे, त्यसरी नै प्रचण्डमाथि पनि बाग्लुङका व्यापारीको सेते घोडा चोरीदेखि राष्ट्रिय सम्पत्ति रित्याउनेसम्मको आरोप लागेको छ । गाउँ त के एक चपरी पनि दिन नमान्ने कौरव शैलीका शासकबाट राज्यसत्ता थुत्न सफल माओवादीका लागि राज्य प्राप्ति भोको बाघलाई मासु पैंचो लगाएजस्तै भयो । झ्याल र जस्केलाबाट पसी दूध घोप्ट्याएर उपद्रो मच्चाउने कांग्रेस एमालेको बिरालो शैलीलाई उछिनेर माओवादीले मूलढोकाबाटै पसेर ढुकुटीमा धावा बोल्यो । नेताहरू चरम विलासी बन्दै गए । सिसाको घरमा बसेर गिट्ठा, भ्याकुर, क्रान्ति गफमा जनता भुलाउने उनीहरूको खेल दिन दुईगुना, रात चार गुनाका दरले बढ्दै गयो । राजामहाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरू महासामन्ती बन्दै गए । नेताहरूको जीवनशैली, आहारविहार बदलियो । सातु र ठेटना मकैबाट शुरु भएको इतिहास पपकर्न र काजुकिसमिसतर्पm रूपान्तरण भयो । राजनीतिमा जसले बढी जाली कुरा गर्न सक्छ, त्यो ठूलो नेता बन्ने नजिर स्थापनामा सबै दलका नेतालाई प्रतिस्पर्धामा उतार्न प्रचण्ड सफल भए । नेताहरूले आपूmले जे ग¥यो, त्यसैलाई लोकसम्मत ठान्ने अहं नत्यागेसम्म फलाममा लागेको खियाले फलाम सिध्याएजस्तै हरेक दलका नेता आफ्नै कार्यकर्ताको कठघराबाट मुक्त नहुने निश्चित छ । आजसम्म सधैं, सबैलाई कसले पो झुक्याउन सकेको छ र ?

टिप्पणीहरू