पत्रकारले अनाहक किन फाल्छ प्राण ?

पत्रकारले अनाहक किन फाल्छ प्राण ?

नारायण नेपाल 

जीवनको दुःख पनि अनेक हुने । कहिलेकाहीँँ त आर्यघाटको धुवाँँमा उडेको जीवनका सप्तरंगी सपना देख्दा लाग्छ के लेख्नु र कसका लागि लेख्नु ! दुनियाँँको कथाव्यथा उतारेर दलाल र तस्करकोे सातोपुत्लो उडाउने एक पत्रकार आज दुनियाँसामु हारेर गयो । जीवनका अनगिन्ती सपना मारेर गयो । कुमारी भिरटोलमा जन्मिएर जीवनको उकालीओराली गर्दै पत्रकारको रूपमा उदाएका शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परे । उनको मृत्युलाई लिएर सामाजिक मिडियामा अनेकौं बहस चलेका छन् । आशंका जन्मिएको छ ।

नुवाकोटको माथिल्लो झ्याङली थियो उनको जन्मघर, कुमारीका हुनेखाने सामन्तहरूले कोल्पुकाफटाबाट चिम्टेश्वरको डाँडातिर औंल्याएर यो गाउँको नाम भिरटोल राखिदिए । बाबु अनन्तराम र आमा मनकुमारीको काइँलो छोरा भएर शालिकराम सामान्य किसान परिवारमा जन्मिएका थिए । गाउँको पुछारमा रहेको वीरेन्द्र उच्च माविबाट पूरा गरेका थिए उनले प्रारम्भिक शिक्षा । त्यहीँको स्कुले जीवनमा मौलाएको थियो सम्झनासँग उनको अल्लारे प्रेम । चिनियाँ भञ्ज्याङका सल्लेघारी पाखाहरू थिए साक्षी, त्यहीं कोपिलाझैं प्रेम मौलाउँदै विवाह बन्धनमा बाँधिन पुगे उनीहरू । सम्झना जनयुद्धका शहीद विद्यार्थी नेता हेम घिमिरेकी भतिजी । बुबा बेलकोटगढी वडा नम्बर ३ को अध्यक्ष । जनयुद्धको आधारकिल्ला नुवाकोटको थवाङ भनेर चिनिने कुमारी गाउँका प्रायः युवा जुझारु स्वभावका भेटिन्थे, त्यस्तै थिए सानैदेखि शालिकराम पनि ।

चितवनको होटलदेखि आर्यघाटसम्म देखापरेका आफन्तजनको आक्रोश पनि त्यही प्रतिरोधात्मक चेतनाको प्रतीक हो, धन्न ती सम्हालिए र कुनै अप्रिय घटना भएन । ०६४ सालमा देशभर संविधानसभाको हुरी चलेका बखत विद्यालय शिक्षालाई बिट मारेर शहर पसेका थिए शालिकराम । कुमारी गाउँ छाडेर बाबु–आमाको दुःख मेटाउने, जीवनका सपना फुलाउने, नयाँ अठोट थियो । जीवन गुजाराको मेलोमा सेक्युरेटी अफिस खोले ।
काम राम्रो चलेको थियो । त्यही बेला बलम्बु खोलाछेउ भएको बधशालाबारे भिडियो खिचेर दिएपछि पत्रकारिता यात्राको श्रीगणेश भएको हो । दीपक बोहराको अनुरोधमा सीधाकुरा जनतासँँग कार्यक्रममार्फत पत्रकारितामा जोडिए । समय अवधिका हिसाबले दुई वर्ष पनि होइन तर उनको साहस, निडरता र लगनशीलताका कारण यो यात्रामा ठूलो उचाइ चुम्न सफल भए । उनी पछिल्लो समय मिसन न्युज अभियान लिएर माउन्टेन टिभीतिर बसाइँ सरेका थिए ।

साउन २० गते बेलुका १० बजेपछि पत्रकार शालिकरामको शव फेला परेको हल्ला भुसको आगोजस्तै फैलँदै थियो । चितवनदेखि कुमारीसम्मका साथीभाइसँग सम्पर्क हुन नसकेपछि राति ११ बजे घुमाउरो पारामा आसलाग्दो युवा पत्रकारसम्बन्धी हल्ला झुट होस् भन्ने स्ट्याटस लेखियो । चितवन पुगेका आफन्तजन हत्याको आशंकामा उद्वेलित भए । त्यो आशंका होटल व्यवसायीतिर सोझिएर जाहेरी दिइयो । तर, उनका मोबाइल बरामद भएपछि भने थप तथ्य उब्जियो र जाहेरी परिवर्तन गर्दै मृतकलाई पोस्टमार्टम गर्न शिक्षण अस्पतालतिर ल्याइयो । पोस्टमार्टमपछि अन्तिम संस्कार गर्न पशुपति आर्यघाटतिर पुगेका आफन्तजनलाई पत्रकारको हुलले भन्दा आर्यघाटको कारुणिक दृश्यले उद्वेलित बनाएको थियो । एक पत्रकारको रहस्यमय मृत्युबारे अन्य पत्रकारलाई पनि चासो र सोधखोज हुनु स्वाभाविकै हो । त्यो अवस्थाले केही असामान्य स्थिति  पैदा भयो । दुनियाँलाई क्यामेरा र माइक देखाएर तर्साउने डन आफंै क्यामेरा देखेर भागेको दृश्य अनौठो थियो । नत्र समवेदना र श्रद्धाञ्जली दिन आएको उसले घटनाको निष्पक्ष छानबिन होस् भन्ने आँँट गर्न किन सकेन र फेसबुक लाइभको सहारामा अनेकौं आशंका मृतकमाथि नै लाञ्छना लगाउँदै पोख्यो ?

साउन २२ गते ३ः५७ मा २१ः३७ मिनेटको लाइभ भिडियो गज्जबको छ । अहिले रवि बचाऊ म्यासेञ्जर अभियानसम्म आउँदा यो गोयबल्स प्रचार किन चल्दैछ ? गहिरो प्रश्न सिर्जना भएको छ । यस्तो भयो होला, झुटो लाञ्छना लाग्यो होला, अनुमानभन्दा छानबिन गरांै, सत्यतथ्य बाहिर ल्याउन सक्दो सहयोग गर्छु किन भन्न नसकेको होला ? अझै त्यति म कमजोर छैन भन्ने धाक रवाफ किन ? कुमारीको पखेरामा घाँँसदाउरा गर्ने किसानको छोरोभन्दा चिच्याहटको शैली त बलियो होला तर के यो देशमा ठूलो स्वर गर्नेले जे गरे पनि हुने हो ? त्यसोभए हिजो अष्टमाया गुरुङको मृत्युमा दुबईसम्म पुग्नेहरू आफ्नै सहकर्मीको दुःखद् मरणमा किन पुगेनन् चितवन ? म हँु हत्यारा र अपराधी त दुनियाँमा कसले भन्छ र ? बरु ७ तलाबाट हाम्फालेर मर्न तयार हुन्छ तर सत्य र अपराध स्वीकार गर्न सक्दैन मान्छे– किन होला ?

आज ठूला मिडियाको दादागिरी र एकाधिकार तोड्ने काम सामाजिक मिडिया र युट्युबरले गरेका छन् । सबैलाई गाली गर्दा पनि युट्युबबाट डलर फल्छ ।  बचाऊ अभियानको अडियो सन्देश सुनेपछि बालखकालमा हजुरआमाले सुनाएको कथा याद आयो, एकादेशमा एउटा गाउँ थियो । एकपटक ठूलो चोरी भएछ । चोर पत्ता लगाउन भन्दै मुखियाले सबै गाउँलेलाई बोलाएर एक हात लामो लट्ठी दिएछन् र भनेछन्– यो कसैले कसैलाई नदेखाउनू भोलि आउँदा जो चोर हो, उसको लट्ठीचाहिँ थप एक बित्ता लामो हुन्छ । सबै घर–घर लागे । लट्ठी एक बित्ता लामो हुने भएपछि चोरलाई चिन्ता लागेछ र एक बित्ता नापेर लट्ठी काटेछ । बिहान उठेर हेर्दा त लट्ठी ज्युँका त्यँु छ । त्यसपछि मुखियाले एक बित्ता लामो पो हुन्छ भनेको, छोटो भयो त के बिग्रियो भन्ने सोच्दै गाउँले भेलातिर लागेछ । मुखिया बाले सबैलाई एक÷एक गरी लट्ठी देखाउन भने । सबैले देखाए । तर, त्यही एक बित्ता छोटो लट्ठीवालाचाहिँ चोर ठहर भयो । कथा सकियो । कथा त्यसे नहोस्, कामना छ !

टिप्पणीहरू