​हेड सर हुने होड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पदको विवाद छ । त्यो पनि कस्तो पद ? स्कुल विभागको पद । सबैलाई स्कुल नै चाहिने । अर्थात् स्कुलको प्रिन्सिपल हुनुपर्ने । नेपाल कम्युनिष्ट पार्टी भनेको राजनीतिक पार्टी हो । पार्टीका नेताहरूलाई प्रिन्सिपल हुने यो के रहर होला ? खासगरी अहिले दुई जना मास्टरबीच यो होड चलिरहेको छ । पार्टीको प्रिन्सिपल हुने होड । 

प्रिन्सिपल भएपछि शिक्षकलाई तह लगाउन सकिन्छ । विद्यार्थी त उसै पनि तह लाग्ने भइहाले । विद्यार्थी र शिक्षक तह लगाउन पनि मास्टरबीच प्रिन्सिपल बन्ने होड चलिरहेको छ । 

नेपालमा सबैभन्दा राम्रो चल्ने व्यवसाय भनेकै स्कुल हो । स्कुल चलाउने व्यवसायी एकसेएक कमाउने भइसकेका छन् । त्यसैले अहिले शिक्षाविद् मात्र होइन जग्गा व्यवसायी, ट्याक्सी व्यवसायी, बस व्यवसायी, मिडिया व्यवसायी आदिसमेत स्कुल व्यवसायमा लागिरहेका छन् । अब त स्थिति यस्तो भयो कि एउटा राजनीतिक पार्टीभित्र पनि स्कुलमोह तीव्र भइसकेको छ । नेताहरूसमेत प्रिन्सिपल हुने होडमा छन् । अहिले कमाउने कोही छन् भने ती सर र हेडसर मात्रै हुन् । शायद त्यही भएर पार्टीमा पनि हेड सर हुने होड चलिरहेको हो कि ? 

टिप्पणीहरू