‘बाघ’ मिलर साथी बर्खास्त

त्यही विधानअनुसार पत्र काट्दा निकिता पौडेलले पदबाट राजीनामा दिइन्, करिश्मा मानन्धरले स्कुल पढ्न लागेको कारण देखाउँदै पद छाडिन् । दीपकराज गिरीले पनि स्पष्टीकरण पेश गरे । 

निर्माता संघले उपाध्यक्ष गोविन्द शाहीलाई स्पष्टीकरण बुझाउन पत्र पठायो । वास्ता गरेनन् । रजिस्ट्री पत्र इमेलको समेत वास्ता भएन । बरु उल्टै मलाई कसले के गर्न सक्छ भन्दै हिँडे । हेक्कै भएन, निर्माता संघमा ‘बाघ’ पनि छन् । 

अन्ततः निर्माता संघको अस्तिको बैठकमा महासचिव रोज रानाले विधानको कुरा कोट्याएका छन् । विधानअनुसार तीन पटकभन्दा बढी बैठकमा अनुपस्थित रहेको खण्डमा स्पष्टीकरण सोधेर, कारबाही गर्न सकिन्छ । त्यहीअनुसार निकिता, करिश्मा, दीपकराज गिरीहरूले स्पष्टीकरण पेस गरिसकेका छन् । संघलाई नटेर्ने गोविन्द शाहीलाई किन कारबाही नगर्ने ? रोजको यो प्रस्तावप्रति केशव भट्टराईले सहमति जनाए । दीपकराज गिरी, छवि ओझा, सुशील पोखरेल, माधव वाग्ले,  आकाश अधिकारी, केशव भट्टराई सम्मिलित उक्त बैठकले गोविन्द शाहीलाई संस्थाको उपाध्यक्षबाट बर्खास्त गरेको छ । 

शालिक फिर्ता, पदीय सुर्ता
नेत्रविक्रम चन्द (विप्लवकोे पार्टीनिकट लेखक बलराम तिमल्सिनाले प्रज्ञामा राख्न ठिक्क पारिएको तत्कालीन राजा महेन्द्रको सालिकको फोटोसहित फेसबुकमा पोस्ट गरेलगत्तै निवर्तमान प्राज्ञ परिषद् सदस्य अमर गिरीले जवाफी हमला गरेका छन् भने मातृका पोखरेल र श्रवण मुकारुङले विरोधको स्वर उँचो पारेका छन् । 

कुलपति गंगाप्रसाद उप्रेतीले सालिक राख्न चाहेको तर अमर गिरी, मातृका पोखरेल र आफूले रोकेको मुकारुङ बताउँछन् । गिरी पनि समयक्रममा सबै कुरा खोल्दै जाने भन्दैछन् । नेपाली लेखक संघका अध्यक्ष मुकारुङले कांग्रेसनिकट नवनियुक्त प्राज्ञहरूलाई राजीनामा दिन आग्रह गरेको एक सदस्यले जनआस्थालाई बताए । स्मरण रहोस्, कांग्रेसनिकट विराटनगरका विवश पोखरेल र भक्तपुरका ध्रुव मधिकर्मी पुनः सभामा मनोनीत भएका छन् । परिषद्मा भने दिनेशराज पन्त र उषा ठाकुर दोहोरिएका छन् । यी सबै कांग्रेसनिकट हुन् । 

उता, दुईतिहाइ बहुमतको सरकार हाँकिरहेको नेकपाले संगीत, नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानमा आफूनिकट प्रतिभालाई नपत्याएको खबर छ । संगीत नाट्यको कुलपतिमा चलचित्र निर्देशक यादव खरेल, उपकुलपतिमा कलाकार हरिहर शर्मालाई ल्याइँदै छ भने सदस्य सचिवमा नेकपानिकट श्याम तमोट परेका छन् । यसैगरी, ललितकलाको कुलपतिमा राजावादी छविकै विजय थापा, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा अख्तियार प्रमुखका दाइ विपिन घिमिरेलाई ल्याउने तयारी छ । यसै कारण मुकारुङ, गिरी र पोखरेलहरूले सरकार योजनाबद्ध ढंगबाट राजतन्त्रको मलजलमा लागेको आरोप लगाउने निहुँ पाएका हुन् । संगीत नाट्यका पूर्व प्राज्ञ सभा सदस्य हरिबहादुर थापा पनि उपकुलपति आकांक्षी हुन् । 

संगीततर्फ प्राज्ञ सिफारिस समितिको सदस्य रहेका श्रीराम आचार्यले कुलपतिमा आफ्नै श्रीमतीको नाम सिफारिस गरिरहेको पर्यटन तथा संस्कृति मन्त्रालय स्रोतले बतायो । अर्का सदस्य प्रचण्ड मल्लचाहिँ शम्भुजित बास्कोटाको पक्षमा लागेको बताइन्छ । प्रज्ञा प्रतिष्ठानविरुद्ध अदालतमा मुद्दा हालेका वाल्मीकि क्याम्पसका सहप्राध्यापक देवी नेपाल त्यहीं प्राज्ञ परिषद् सदस्य बन्न आइपुगेका छन् । नेपालले केही वर्षअघि प्रज्ञाबाट प्रकाशित तथा बमबहादुर थापा जितालीद्वारा लिखित ‘छन्दको छहारी’ नामक पुस्तक आफ्नो ‘छन्द पराग’ किताबबाट चारेको भनी प्रज्ञालाई समेत विपक्षी बनाएर मुद्दा हालेका थिए । 

टिप्पणीहरू