​ठूला मान्छेका क–कसले पाए ठाउँ ?

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युनिट (एफपियु) को २३ औँ टोलीमा सामेल भई हाइटी र सुडान जाने डफ्फा तयार भएको छ । तर, कार्य उत्कृष्टताका आधारमा छनौट हुने भनिएको उक्त टोलीमा आइजिपीका भान्से हवल्दार आशुराम चौधरी, ड्राइभर नरेश रानादेखि प्रचण्डका पिएसओ भगवान कार्कीसम्म परेका छन् ।

वरिष्ठता र कार्यउत्कृटष्ता गरी दुईखाले प्रावधानका आधारमा प्रतिस्पर्धा गर्न पाइने उक्त छनौटका लागि विभिन्न युनिटले सिफारिस गरेका उत्कृष्ट प्रहरी कर्मचारी कम, भिआइपी र भिभिआइपीको सिफारिसका अधिकांश परेका छन् । एउटा डफ्फामा १४० जना पठाउँदा थप २२ जनालाई उत्कृष्टताको नाममा चयन गरिन्छ । योग्यता पुगेकामध्येबाट पनि योग्य छान्नलाई दौड गराइन्छ, उत्कृष्टताका नाममा छानिने २२ का लागि केही पनि गर्नुपर्दैन । तर, ‘कसैले भनेको हुँदैन’ भनेर देखाउनका लागि यसपालि २२ जनामा पार्न पनि कुदाइए र बीचैमा फ्याँफ्याँ परेकाहरू पनि छनौटमा परेका छन् । १३८ जनालाई दौडाइयो, त्यसमध्ये २२ जना उत्कृष्टको नाममा उत्तीर्ण भए । २२ मध्ये ८ जना त सई दर्जाका छन्, जो विभिन्न नेताको सुरक्षामा परिचालित छन् । बाँकी १४ जनामा आइजीका अघिपछि लाग्ने, एआइजी बमबहादुर कार्की, डीआईजी केदारमानसिंह भण्डारी, मनोज नेउपानेका ड्राइभर, पिए र भान्से छन् । 

केपी ओलीले प्रधानमन्त्रीमा शपथ लिएकै दिन बहाली भएका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलाई समेत प्रहरीले खुशी पार्न भ्याइसक्यो, यही मिसनका नाममा । लालबाबुले भनेर होइन, उनी खुशी होलान् भनेर उनका पिएसओ विष्णु भट्टराई छनौटमा परेका छन् । हाइटीका लागि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका पिएसओ शैलेन्द्र थापा, पूर्वगृहमन्त्री जनार्दन शर्माका कमलकान्त पुन, सिआइबीका आशिष कार्की, खेलाडी जुमानु राईहरु पनि अटाएका छन् । सुडानका लागि अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन राईका पिएसओ राधाकृष्ण कसजु हालिए । एमालेका शक्तिशाली नेता मानिने उपमहासचिव विष्णु पौडेलसँग लामो समयदेखि साथ रहेका मानबहादुर अधिकारी पनि सुडानमा पारिएका छन् । पौडेलसँगै बसेर उनी मिसनमा परेको यो दोस्रोपटक हो ।

अहिले हाइटीमा रहेको २२ औँ टोलीको अवधि चैत २ गते सकिने भए पनि एक महिनाको म्याद थपेर वैशाख २ मा फर्किंदैछ । प्रहरीहरुलाई एफपियु मिसनमा छनौट गर्नका लागि ‘युएन, एफपियु छनौट निर्देशिका’ जारी भएको छ । तर, त्यसलाई रद्धीको टोकरीमा फ्याँकेर मनलाग्दी छनौट हुँदै आएको छ । यस्तो हुँदा गृहमन्त्री भइसकेका माओवादी नेता कृष्णबहादुर महराका भान्से छुटेका छन् । दुई साताअघि सेवानिवृत्त भएका अख्तियार प्रमुख दीप बस्न्यातका पिएसओको नाम काटेर उनीपछि कावा चलाइरहेका नवीन घिमिरेका पिएसओको नाम हालिएको छ । अख्तियार प्रमुखले सिफारिस नगरे पनि उनलाई खुशी पार्नका लागि प्रहरीले आफैँ उनका पिएसओहरुको नाम हाल्ने गरेको हो । महराका भान्से नपर्नुको कारणचाहिँ डिआइजी मनोज नेउपानेको ड्राइभर हाल्नका लागि हो । अहिले त्यही कारण मनोजलाई हाकिमहरुले बसिखान दिएका छैनन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरीको छनौटभित्रै उत्कृष्ट अनुसन्धानकर्ता पनि पर्छन् । तर, यसपालिको छनौटमा अनुसन्धानतर्फका प्रहरीहरु हिस्स परेका छन् । विभिन्न जिप्रका, केन्द्रीय अनुसन्धान व्युरो, लागुऔषध, अपराध महाशाखाबाट अघिल्ला वर्ष अनिवार्य छनौट हुन्थ्यो । तर, यसपालि अपराध मशाखाका इन्स्पेक्टर मनोजित कुँवर र सिआइबीका एक सईलाई हालेर विधि पु¥याइएको छ । रवीन्द्रप्रताप शाह आइजिपी हुँदा ठूलो दुःखले अनुमोदन गरिएको निर्देशिकालाई अहिलेका हाकिमहरुले सिँगान पुछेर फाल्न मात्र प्रयोग गरेको चर्चा हेडक्वार्टरभित्र छ । छनौटका लागि बोर्ड बैठक राख्नुपर्नेमा यसपालि आइजिपी र मनोज नेउपाने बसेर टुंग्याए ।

यस्तो भद्रगोलका कारण छनौट समितिको सदस्य सचिव रहने युएन शाखाका एसएसपी श्याम खड्काले सही गरेनन् । पछि उनलाई सदस्य सचिवबाट हटाइयो । युएन शाखामै रहेका डिएसपी सविन प्रधान तालिमका लागि इटलीमा छन् । उनी प्रिस्याटमा फेल भएका थिए । युएन शाखामा गएपछि कता–कता भनसुन गरेर आफ्नो नाम युएन जानेमा हाल्न सफल भए । तर, ‘तेस्रो र चौथो पटक मिसन गएकाहरु फेरि–फेरि जाने’ भन्दै एआइजी हेमन्त पालले सविनलाई हप्काए । उनैले आइजीलाई भनेर सविनको नाम काटेको भनिन्छ ।

टिप्पणीहरू