भीम रावल कोटेश्वरमा, अखिलका नेता त्रिचन्द्रमा

भीम रावल कोटेश्वरमा, अखिलका नेता त्रिचन्द्रमा

नेकपा (एमाले) उपाध्यक्ष भीम रावल बिहान सबेरै वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । हिजो दिउँसो सर्वोच्च अदालतको फैसलापछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएका रावल नेता नेपालसँग भेटघाट गर्न टोली लिएर त्यहाँ जानुभएको हो ।

सर्वोच्चको फैसलापछि उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राखेर एमाले कार्यदलले तयार पारेको प्रस्ताव र सिफारिशमा समर्थन जनाइदिन अनुरोधका लागि रावलको टोली कोटेश्वर गएको हो । स्रोतका अनुसार कार्यदलमा रहेका नेता नेपालपक्षीय बहुमत सदस्यहरुको जोड नेपाललाई त्यहि १० बुँदे सहमतिमा हस्ताक्षर गराउने भन्ने रहेको छ ।

कार्यदलले सहमति र प्रस्ताव गरेको १० बुँदालाई अन्तिम रुप दिन अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुनैपर्छ । तर, ओली अब नेपालसङ्ग बस्ने सम्भावना क्षीण हुँदै गएको बताइन्छ ।

उता अनेरास्ववियुको ओली निकट समूहले फैसलाको बिरोधमा आकस्मिक बृहत कार्यकर्ता भेला बोलाएको छ । स्रोतका अनुसार फैसलाको बिरोधमा आन्दोलन चर्काउन लागिएको हो ।

अनेरास्ववियुले आज दिउँसो १ बजे त्रिचन्द्र क्याम्पसमा कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष ऐन महरले काठमाण्डौ उपत्यकामा क्रियाशील अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

टिप्पणीहरू