हिसानमा पहिलो पटक चुनाव,वरिष्ठ उपाध्यक्षसँग महासचिवको हार

हिसानमा पहिलो पटक चुनाव,वरिष्ठ उपाध्यक्षसँग महासचिवको हार

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मा पहिलो पटक चुनाव भएको छ । सर्वसम्मतिमा नेतृत्व चयन हुन नसक्दा हिसान स्थापनाको झण्डै तीन दशकपछि चुनावमार्फत प्रतिनिधि चुनिएको हो । शुक्रबारबाट शुरु भएको हिसानको नवौं राष्ट्रिय महाधिवेशन गएराति सम्पन्न भएको छ । 

महाधिवेशन काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको थियो । अघिल्ला महाधिवेशनहरुमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यो पटक मतदानमार्फत छानिएको हो । अध्यक्ष पदमा चार जना उम्मेदवार देखिएका थिए । 

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा,महासचिव जेभियर इन्टरनेशनलका लोकबहादुर भण्डारी,पूर्वकोषाध्यक्ष रामेश्वर अर्याल र सिनामंगलस्थित नोबल कलेजका सञ्चालक नवराज पाण्डेले उम्मेदवारीको घोषणा गर्दा अन्तिम समयमा अर्याल र पाण्डेले उम्मेदवारी फिर्ता लिए । 

त्यसपछि वरिष्ठ उपाध्यक्ष शर्मा र महासचिव भण्डारी अध्यक्षका लागि भिडेका थिए । दुवैबीच एकअर्कालाई  स्वीकार नगर्ने अडान रहँदा चुनाव भएको बताइन्छ । चुनावमार्फत युवराज अध्यक्षमा निर्वाचित भएका छन् । भण्डारीलाई ५४ मतले हराउँदै उनी अध्यक्ष चुनिएका हुन् । 

कूल दुई सय ८५ मत खसेको थियो । शर्माले एक सय ६० मत पाउँदा भण्डारीले एक सय ६ मत ल्याए । त्यस्तै,वरिष्ठ उपाध्यक्षमा जीवनप्रकाश शर्मा, टंकराज आचार्य,डा.स्वागत श्रेष्ठ, भेषराज पोखरेल र बाबुराम पन्तले उम्मेदवारी दिएकोमा टंकराज र डा.स्वागत निर्वाचित भएका छन् । 

टंकराज एक सय तीन र डा.स्वागत एक सय ४७ मत ल्याउँदै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । हिसानको महासचिवमा एमालेनिकट रामहरि सिलवाल चुनिएका छन् । जयराम खनाललाई ३० मतले पछि पार्दै उनी विजयी भएका हुन् । 

त्यस्तै,सचिवमा कृष्णप्रसाद पौडेल, जीवन लामा गोले,पारश श्रेष्ठ, भवानीप्रसाद पौडेल,यामबहादुर रोका, राजेश कार्की र बलराम पन्त निर्वाचित भएका छन् । जसमध्ये सबैभन्दा सबै भोट जीवन लामा गोलेले (१६७) ल्याएका हुन् । कोषाध्यक्षमा शिवप्रसाद अधिकारी र सह–कोषाध्यक्षमा शंकर भट्टराई निर्विरोध निर्वाचित भएका छन् । 

खुला सदस्यमा केपी पन्त,केशवप्रसाद दंगाल,दिवाकर जैसी,हरिकृष्ण अर्याल, आजिवन सदस्यबाट शिवप्रसाद सुवेदी, कोशी प्रदेशबाट केशव खड्का,गुणराज अधिकारी,सागरप्रसाद भट्टराई, मधेशबाट मुकेशप्रसाद गुप्ता,बाबुसाहेव यादव,लुम्बिनीबाट उत्तमराज घिमिरे, गणेश भण्डारी,दिनेश भुसाल, कर्णालीबाट प्रेमबहादुर दसुनी र सुदूरपश्चिमबाट डा.भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन् ।  ३ सय सदस्यले १०-१० हजार लेबी बुझाएर महाधिवेशनमा भाग लिँदा अध्यक्षका उम्मेदवारको शुल्क १ लाख तोकिएको थियो ।


 

टिप्पणीहरू