कसले डढायो होला एमालेको फाइल ?
भ्रष्टाचार अन्त्य,सुशासन र प्रतिबन्धित सामाजिक सञ्जाल फुकुवा माग गर्दै भदौ २३ गते सडकमा उत्रिएका जेनजी युवाको प्रदर्शन विध्वंशमा परिणत हुँदा देशले अतुलनीय क्षति व्यहोनुपर्यो । राज्यका तीन वटै अंग (व्यस्थापिका, कार्यपालिका र न्यायपालिका) ध्वस्त भए । त्यहाँ खरानी भएका ऐतिहासिक दस्तावेज र डकुमेन्टहरुको ब्याख्या गरी साध्य छैन ।
त्यसो त,जेनजी प्रदर्शनमा घुसपैठ भएको सुरक्षा निकायको निष्कर्ष छ । जेनजी युवाहरुको प्रदर्शनमा आखिर कसले घुसपैठ गर्यो ? उनीहरु कोबाट परिचालित थिए ? उद्धेश्य के थियो ? विस्तारै पर्दापण हुने नै छ । तर यतिबेला जेनजीको नाममा आफ्नै पार्टी कार्यालयमा आगो दन्किरहँदा उजुरीका फाइल डढाउने नेता तथा कार्यकर्ताको अनुहार खोतल्न थालिएको छ ।
तत्कालीन वस्तुस्थितिलाई आधार मान्ने हो भने अराजकताले ‘अन्धो’ बनेका युवाहरुको मुख्य टार्गेट तत्कालीन सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) थियो । भदौ २३ गते दिउँसोदेखि च्यासलस्थित पार्टी मुख्यालय घेराउ गरेका उनीहरुले भोलिपल्ट (भदौ २४) आगो लगाइछाडे । आम जनता पार्टीका अध्यक्ष प्रभु साहका छोराको समूह आगो झोसेर निस्किदै गरेको फोटो तथा भिडियो पनि सार्वजनिक भइसकेको छ । तर, पार्टीकाे केन्द्रीय अनुशासन आयाेगका फाइल खरानी हुनुमा आफ्नै केही केन्द्रीय सदस्यको हात हुनसक्ने आशंका छ ।
कोठामा भएका फाइलबारे राम्रो जानकार भएको मान्छेले त्यहाँ आगो सल्काएको हुनसक्ने बडालको विश्लेषण छ ।
याैन काण्डमा मुछिएर विभिन्न मुद्धामामिला खेपिरहेकाहरु पार्टी कार्यालयमा आगो लागेको भोलिपल्टदेखि लगातार च्यासल पुग्नु र तेस्रो तल्लामा रहेको केन्द्रीय अनुशासन आयोगका फाइलहरु एक टुक्रा नभेटिनेगरी खरानी हुनुले उक्त आशंकाले बल पाएको हो । जबकि, त्यो भन्दा तल्लो तलाको कोठामा भएका फाइलहरुको भने अधिकांश भाग जले पनि केही टुक्रा भेटिएका थिए ।
बताइएअनुसार नेता ऐन महर मात्रै होइन महेश बस्नेत, सुरतबहादुर शाही,मोहन बानियाँ, गुलाबजंग शाहसहित सयभन्दा बढी नेताविरुद्धको उजुरी आयोगको सोही कोठामा थियो । तर पार्टीकै नेताहरुले आफूविरुद्धको उजुरी मेटाउन जेनजीले लगाएको आगोको ‘सहारा’ लिएको आरोप पनि छ । ‘आयोगको कोठाभन्दा माथि अरु कुनै कोठा थिएन,तलका कोठामा भएका फाइल जले पनि टुक्राहरु भेटिए’, स्रोतले भन्यो, ‘तर सबैभन्दा माथिको कोठामा भएका कागजातको एउटा टुक्रा भेटिएन ।’
अनुशासन आयोगका तत्कालीन अध्यक्ष केशव बडालले पनि एउटा टुक्रासमेत फेला नपरेकोमा आश्चर्य व्यक्त गरेका छन् । ‘म आगो लागेको तीन चार दिनपछि च्यासल पुगेको थिएँ’,उनले भने, ‘तेस्रो तल्लामा थियो कोठा, कागजातको एउटा टुक्रा समेत फेला पारिनँ, त्यहाँकाे अवस्था हेर्न नसकेपछि रुँदै फर्किएकाे थिएँ ।’
आयोगको कोठाका फाइलहरु जलेको भन्दा पनि ‘गायब’ पारिएको हुनसक्ने बडालको तर्क छ । ‘त्यहाँ सयभन्दा बढी उजुरी थिए, २९ बोरा त मैले घरैबाट लगेका पुस्तक र रिसर्च पेपर थिए’, उनले अघि थपे, ‘त्यही कोठालाई एक टुक्रा कागजसमेत नभेटिनेगरी खरानी बनाइएछ।’
आयोगको कोठामा भएका फाइलबारे राम्रो जानकार भएको मान्छेले त्यहाँ आगो सल्काएको हुनसक्ने बडालको विश्लेषण छ । ‘आगो लगाउने त अराजक युवाहरू नै हुन्, तर त्यही मौकामा थाहा पाएकै मान्छेले आयोगको कोठालाई टार्गेट गरेर आगो सल्कायो’, उनको दावी छ, ‘सामान्य तरिकाले आगो लाग्दा त्यसरी एक टुक्रा पनि नभेटिनेगरी खरानी त हुँदै हुन्न, अरु कोठामा पनि हेरेँ, त्यस्तो थिएन, कुन नियतको मान्छेले के के लग्नु थियो, सबै लिएर गयो ।’
स्रोतका अनुसार भदौ २७ गतेसम्म पार्टी कार्यालयमा आगो पूर्णरुपले निभेको थिएन, भने नेताहरु पनि गुप्तवासमा थिए । तर उक्त दिन नेता महर र प्रकाश पौडेलसहित युवा नेता भने पार्टीको झण्डा झुण्ड्याउने भन्दै दिउँसो च्यासल पुगेका थिए । त्यहाँ केही जेनजी युवा पुगेर लफडा गरेपछि उनीहरुले झण्डा झुण्ड्याउन पाएनन् । कतिसम्म भने, महरले आत्मरक्षाको लागि ‘म पत्रकार हुँ’ भन्दै जेनजीहरुसँग आफू एमाले नभएको बताएका थिए । उनीसँगै गएका पौडेललाई भने ती जेनजी युवाहरुले नजिकैको प्रहरी वृत्त सफा गर्न लगेको बताइन्छ ।
भदौ २४ गते विभिन्न अदालतका फाँटहरु छानीछानी आगो लगाइएको विषय सार्वजनिक भइरहँदा राजनीतिक दलका कार्यालयका कोठाहरु पनि छानीछानी खरानी पारिनुमा कतै नेताहरुकै हात त होइन ? नयाँ दृष्टिकाेणबाट अनुसन्धान गर्नुपर्ने देखिएकाे छ । रवि लामिछानेको मुद्धा भएको १३ नम्बर फाँट, बालकृष्ण खाँण र दुर्गा प्रसाईको मुद्धा भएको ९ नम्बर फाँटलाई छानीछानी ध्वस्त पारिएको पृष्ठभूमिमा एमाले कार्यालयका कोठाहरु पनि छानीछानी खरानी बनाइनुमा पार्टीकै नेताहरुको संलग्नता रहेकाे घटनाक्रमले संकेत गर्दै गएकाे छ ।
टिप्पणीहरू