प्रधानमन्त्रीका पिए फेरि विवादमा
श्रीमतीसहित नातेदारलाई जागिर लगाएर विवादमा तानिएको केही महिनामै प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ फेरि अर्को विवादमा मुछिएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक सहसचिव कमलराज श्रेष्ठलाई हटाउन उनीसहितले चलखेल गरिरहेको आरोप लागेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको केही दिनअघि तत्कालिन खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी विकास समितिमा कार्यकारी निर्देशक रहेका कमलराजलाई खानेपानी विभाग ल्याएका थिए । त्यसअघि सहसचिव रामकुमार श्रेष्ठ विभागको महानिर्देशक थिए । स्रोतका अनुसार अहिले कमलराजलाई हटाएर उनै रामकुमारलाई विभागमा भित्र्याउन चलखेल भइरहेको छ ।
यसका निम्ति प्रधानमन्त्रीका पिए आदर्शसहित खानेपानीसचिव रामआधार साहले जोडबल गरिरहेको स्रोत बताउँछ । त्यसो त सचिव साह पनि विवादित छविकै हुन् । २०७२ मंसिरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमा सहसचिव रहँदा पक्राउ परेका थिए । गुणस्तर तथा नापतौल विभागको प्रमुख रहँदा भारतीय नाकाबन्दीको फाइदा उठाउँदै पेट्रोल पम्पहरुमा रिमोट जडानमार्फत ठगी गरेको आरोपमा उनीसहितलाई प्रहरीले पक्रेको थियो ।
तत्कालिन खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले असहयोग गरेपछि प्रधानमन्त्रीका पिए आदर्शकै मिलेमतोमा विवादित रामआधारलाई मन्त्रालय ल्याएको बताइन्छ ।
तर,अदालतले रामआधारलाई सफाइ दियो । खानेपानी विभागमा रामकुमारलाई भित्र्याउन तत्कालिन खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले असहयोग गरेपछि प्रधानमन्त्रीका पिए आदर्शकै मिलेमतोमा विवादित रामआधारलाई मन्त्रालय ल्याएको बताइन्छ । स्रोतका अनुसार अहिले उनीहरु कमलराजलाई हटाएर रामकुमारलाई भित्र्याउन लागि परेका छन् ।
‘जसरी भए पनि रामकुमारलाई विभागमा ल्याउन उनीहरु कसिएका छन् । मन्त्री राजेन्द्रसिंह भण्डारीसँग लबिङ गरिरहेका छन् । मन्त्री मान्नेबित्तिकै रामकुमार विभागमा आइहाल्छन्,’ स्रोतको दावी छ । खानेपानी क्षेत्रमा रामकुमारभन्दा कमलराज निकै काविल मानिन्छन् ।
०७८ असारमा रामकुमार मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक रहँदा मेलम्चीमा भीषण बाढी आएको थियो । बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाउँदा आयोजनामा झण्डै दुई अर्बको क्षति पुग्यो । तर,बाढीपछि आयोजना पुनःस्थापना गर्नतिर भन्दा पनि कार्यकारी निर्देशकको जिम्मेवारीबाट छुट्कारा पाउनतर्फ रामकुमार लागे ।
र, समितिमा कार्यकारी प्रमुखका रुपमा आएको अढाई महिनामै राजनीतिक पहुँचका आधारमा गण्डकी प्रदेशको ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरुवा भएका थिए । यसरी आपतकालमा जिम्मेवारीबाट पन्छिने रामकुमारलाई फेरि खानेपानी विभागको महानिर्देशक बनाउन भइरहेको चलखेलले आर्थिक लेनदेनको आशंकासँगै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
टिप्पणीहरू