तीन सातादेखि पूरै मनाङ ‘ब्ल्याक आउट’

तीन सातादेखि पूरै मनाङ ‘ब्ल्याक आउट’

जेठ ३१ गतेदेखि सक्रिय भएको मनसुनपछि आएको बाढी र पहिरोका कारण मनाङ जिल्ला पूरै अन्धकारमय बनेको छ । त्यो दिनको बाढी तथा पहिरोले स्थानीय लघु जलविद्युत आयोजना र राष्ट्रिय प्रशारण लाइनमा क्षति पुगेपछि विद्युत आपूर्ति ठप्प भएको नेपाल विद्युत प्राधिकरण चामे शाखाका निर्देशक मिलन सुवेदीले बताउनुभएको छ ।

आज जनआस्थासँग कुराकानी गर्दै सुवेदीले बाढी तथा पहिरोका कारण तत्काल काम अघि बढाउन सक्ने अवस्था छैन । उहाँका अनुसार अझै तीन महिनासम्म विद्युत आपूर्ति ठप्प हुनसक्छ । सुवेदीले राष्ट्रिय प्रशारण लाइनमा ७० देखि ८० लाख र लघु जलविद्युत आयोजनामा ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको बताउनुभयो ।सबैतिर अन्धकार भएपछि अहिले केन्द्र सरकार र प्रदेश सरकारको पहलमा सोलार प्यानल जडानको कार्य भइरहेको छ । क्षतिग्रस्त जलविद्युत पुनर्निर्माणका लागि ठूलै बजेटको आवश्यकता पर्ने अवस्था रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

बाढी पहिरोका कारण सडक अवरुध्द भएपछि तत्काल आवश्यक दैनिक उपभोग्य सामाग्री ढुवानीमा समेत समस्या परेको छ । बाढी, पहिरोले मनाङका क्षतिग्रस्त लघु जलविद्युत गृहसम्म जानसक्ने अवस्थासमेत नभएको उहाँले बताउनुभयो ।

टिप्पणीहरू