बैंकिङ कसुर र ठगीका फरार प्रतिवादीहरु पक्राउ

बैंकिङ कसुर र ठगीका फरार प्रतिवादीहरु पक्राउ

बैंकिङ कसुरका फरार तीन जना प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं बालाजु बस्ने मोरङ बेलवारी नगरपालिका–७ घर भएका ३० वर्षीय शक्ति भुजेललाई आइतबार प्रहरीले समातेको हो ।

२०७६ सालमा भुजेलले विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने प्रलोभनमा उठाएको रकम फिर्ता गर्ने क्रममा नगद मौज्दात नभएको खाताको चेक भिडाएका थिए । नबिल बैंकमा रहेको आफ्नो नामको खाताबाट उनले पीडितहरूलाई ९२ लाख रुपैयाँ बराबरको चेक दिए ।

उच्च अदालत पाटनले २०७७ फागुन ५ गते १४ दिन बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी कैद र ९२ लाख रुपैयाँ जरिवाना सुनाएपछि भुजेल फरार भएका हुन् । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको बोहोराटारबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

यस्तै झापामा पनि बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–५ बस्ने ताप्लेजुङ घर भएका ३६ वर्षीय नरेन्द्र तिम्सिनालाई आइतबार नै प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत बिराटनगर, इलाम इजलासको २०७७ चैत ३० गतेको फैसलाबमोजिम बैंकिङ कसुर मुद्दामा १५ दिन कैद, ३४ लाख जरिवाना र पीडित राहत कोषमा १ लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ताप्लेजुङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएलगत्तै अदालतले कैद भुक्तानको लागि कारागार चलान गर्न आदेश दिएको थियो । तिम्सिनालाई चन्द्रगढी झापा जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच तनहुँमा ठगी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका–११ रानीगाउँ बस्ने ४४ वर्षीय रामबहादुर बयलकोटी शनिबार पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले २०६० साल पुस ८ गते २ वर्ष २ महिना कैद र १ लाख ७५ हजार १ सय १९ रुपैयाँ जरिवाना सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले पक्राउ गरेको हो ।

टिप्पणीहरू