पुल नहुँदा काठको साँघुबाट कामचलाउ
-राजेशचन्द्र राजभण्डारी
हरेक वर्ष वर्षायामसँगै बागलुङका जनताले एउटै समस्या झेल्दै आएका छन् । खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा जोखिम मोलेरै खोला वारपार गर्नुपर्ने बाध्यता छ । त्यसका लागि स्थानीयले आफैँ काठको साँघु हालेर खोला वारपार गर्न अस्थायी पुल बनाउने गरेका छन् ।
स्थानीय तहसँग पटक पटक पुल बनाउन माग गरे पनि खोला वारपार गर्न पुल नबनेपछि बागलुङका स्थानीयले आफैँ अस्थायी पुल बनाएका छन् । वर्षा लाग्नासाथ सँधै खोला वारपार गर्न समस्या भएपछि बागलुङको ग्रामीण क्षेत्रका जनताले आफैँ काठको साँघु निर्माण गरेका हुन् ।
दक्षिण जैमुनी नगरपालिका १, कुश्मीशेराको टिमुरे खोला तर्न पुल नभएको कारण सास्ती खेप्दै आएका गाउँलेले आफैँ जंगलबाट रूख काटेर काठको साँघु बनाएको स्थानीय कुलराज शर्माले बताए ।
स्थानीय खोलामा पुल नहुँदा वर्षायाममा जनताको दैनिकी नै ठप्प हुने गर्छ । त्यस्तो नहोस् भन्नाको लागि साँघु हालिएको बताइन्छ । यसअघि धेरै पटक वर्षायाममा पुलको अभावमा मृत्यु संस्कार र विद्यार्थीलाई विद्यालय र घर गर्नै गाह्रो भएको स्थानीयवासी डिल्ली शर्माले बताए ।
टिप्पणीहरू