कुरुम्वाङ सिडिओ हुन् कि भकुण्डो ?
सरकारले गृह मन्त्रालयका उपसचिव रामबहादुर कुरुम्वाङलाई सिडिओको नाममा भकुण्डो झैँ एउटा जिल्लाबाट अर्कोमा हुर्याउँदै ९ वटामा पुर्याएको छ । प्रमुख जिल्ला अधिकारीको सरुवासम्बन्धी मापदण्ड (राजपत्रांकित द्वितीय र प्रथम) को ठाडो उल्लंघन गर्दै उनलाई मनलाग्दी तरिकाले फालिएको निजामती कर्मचारीहरूबीच चर्चा छ ।
उनलाई अस्ति मङ्गलवारदेखि दाङ्ग पठाइएको छ । यसअघि नै ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा र बाँकेमा बसिसकेका रामबहादुरका निम्ति पौने एक दर्जन जिल्ला हो ।
उनी अब्बल प्रशासक हुन् भन्नेमा कुनै शंका छैन । तर,सरुवा र सिडिओको हैसियत दिने क्रममा गृहकै मापदण्डलाई कुल्चिएको देखिन्छ । मापदण्डमा लगातार तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेको अधिकृतलाई गृह मन्त्रालय मातहतको विभाग वा क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने व्यवस्था छ । तर,त्यो नीतिको ठाडो उल्लंघन हुँदा पनि गृह प्रशासन मौन देखिन्छ ।
उक्त मापदण्डको बुँदा नम्बर ५ मा लेखिएको छ ‘सामान्यतयाः लगातार ३ जिल्लामा प्रजिअको जिम्मेवारी वहन गरिसकेकाहरूलाई मन्त्रालय मातहत विभाग र क्षेत्रीय प्रशासन कार्यालयमा सरुवा गर्ने नीति अवलम्बन गर्ने ।’
टिप्पणीहरू