बालेनको टोली जङ्गी अड्डाबाट सोझै गोदावरी रिसोर्ट
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसहितको टोली भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय परिसरबाट सोझै गोदावरी रिसोर्ट जाने तयारी छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा केही बेरअघि शुरु भएको १८औँ नगरसभा र ४५औँ कार्यपालिकाको बैठकलगत्तै जनप्रतिनिधिको टोलीको दिवा भोज गोदावरी रिसोर्टमा राखिएको छ ।
त्यसपछि सोही रिसोर्टमा हुने बैठकले ऐन संशोधन गर्नेछ। ‘आजको यताको बैठकपछि रिसोर्ट जाने कार्यक्रम छ। त्यहाँ घुमघाम र बसाइ सकेर भोलि दिउँसोको लञ्चपछि मात्रै टोली फर्किनेछ । उतै आवश्यक ऐन संशोधन र पारित गरेर आउने योजना बनाइएको छ,’ स्रोतले भन्यो ।
बालेन मेयरमा निर्वाचित भएपछि पहिलोपटक नगरसभा बैठक महानगर कार्यालयबाहिर बस्न लागेको हो । हिजो बेलुकीसम्म भद्रकालीको बैठक लाइभ नगरिने भनिए पनि अहिले गरिएको छ ।
आजको नगरसभा र कार्यपालिकाको बैठकमा टेकूस्थित प्रस्तावित प्रशासनिक भवन निर्माण कार्यलाई निरन्तरता दिन म्याद थप गर्ने, बजेट तथा कार्यक्रम संशोधन, विभिन्न ऐन र कार्यविधि संशोधनलगायत नौ वटा प्रस्ताव पेश गरिँदै छ ।

टिप्पणीहरू