झलनाथको स्वास्थ्य सुधार,हप्ता दिनमा स्वदेश फर्कने
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । गत बुधवारदेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना हुनुभएका खनालको स्वास्थ्यमा सोचेभन्दा बढी र छिटो सुधार आएको पारिवारिक स्रोतले बताएको छ । स्रोत भन्छ ‘यहि तरिकाले सुधार हुँदै गयो भने सम्भवतः आगामी एक सातादेखि १० दिनमा स्वदेश फर्कनु हुनेछ ।’
नेता खनाललाई गत सातासम्म काठमाडौंको नर्भिक अस्पतालमा उपचार गरिएको थियो । त्यसबखत उहाँको फोक्सोमा पानी भरिएको बताइएको थियो । अघिल्लो महिना उहाँलाई कोरोना संक्रमणसमेत भएको थियो । त्यसपछि फोक्सोमा पानी भरिनुलाई पोष्ट कोभिड भनिएको थियो ।
तर वहाँलाई ११ दिनदेखि आएको ज्वरो कम नभएपछि परिवारले नयाँ दिल्ली लैजाने निर्णय गरेको थियो । उहाँमा मिर्गौलासम्बन्धी पुरानो समस्या पनि छ । त्यसैगरी उहाँको शरिरको माथिल्लो भाग हल्लिने रोग पनि छँदैछ । यसबीचमा ती रोगले कुनै दुःख नदिएको बताइएको छ ।
यसैबीच खनाल उपचारको निम्ति नयाँ दिल्ली प्रस्थान गर्नुअघि उहाँको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिलाई नेपाल समूहका केही नेताले बालुवाटारको ‘असफल प्रयास’ भनेका छन् । उक्त विज्ञप्ति जारी गर्ने योजनामा खनालकै नातेदार तथा एमाले नेताको हात रहेको आशंका गरिएको छ । उक्त विज्ञप्तिलाई अर्को पक्षले ‘विज्ञप्ति काण्ड’ भनेको छ ।
त्यसैगरी बालुवाटार पक्षले हिजो अर्का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा हालिएको रिटबाट हस्ताक्षर फिर्ता लिन तयार रहेको हल्ला फिँजाएको अर्को पक्षको आरोप छ । नेता नेपालको भनाई उद्धृत गर्दै उक्त पक्षका एक जना नेता भन्छन् ‘हामी हस्ताक्षर फिर्ता लिन तयार छौं भन्ने समाचार हल्ला मात्रै हो, कोही पनि भ्रममा नपरे हुन्छ ।’
टिप्पणीहरू