सिद्धबाबाको डाँडा काटिँदैन : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने बताउनुभएको छ । उहाँले सिद्धार्थ राजमार्गको उक्त खण्डको यात्रालाई सहज बनाउन आफूलाई डाँडा काट्न धेरै वटा सुझाव आए पनि डाँडा नकाटिने बताउनुभएको हो ।
आज नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र बालुवाको निर्यात गर्ने नीति कति जायज ? भन्ने विषयमा गरेको बहसमा बोल्दै मन्त्री पौडेलले सिद्धबाबाको डाँडा नकाटिने बरु चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गर्ने स्पष्ट पार्नुभयो ।
चुरेको दोहन र उत्खननबाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउन त्यहाँ सुरुङमार्ग निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘कतिपयले सिद्धबाबाको डाँडा काटेर समथर पार्दै माटो, ढुंगा हटाएर त्यहाँको यात्रालाई सुरक्षित गर्न सकिने सुझाव पनि नदिएका होइनन् । तर म स्वयमले त्यहाँको खानीजन्य पद्धार्थलाई निकाशी गर्ने कुराको सख्त बिरोध गरेको छ ।’
चुरे संरक्षणको महत्वलाई आफूले स्थापित गर्न पहल गरेको उहाँको भनाई छ । सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित नहुने भएकाले त्यहाँ सुरुङ मार्गको व्यवस्थित प्रबन्ध गर्ने र चुरेको दोहन, उत्खनन्लाई जोगाउनुपर्ने मान्यताका साथ सरकारले सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न लागेको उहाँले बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले बजेट वक्तव्यको बुँदा नं. १९९ मा चुरेबारे उल्लेख नगरिएकाले अनावश्यक रुपमा विवाद निकालिएको उल्लेख गर्दै भन्नुभएको छ ‘चुरे क्षेत्रमा कुनैपनि प्रकारको हस्तक्षेप गर्न दिइने छैन । प्राकृतिक सम्पदाको दोहन गर्नेलाई कडा कारबाही गरिने छ ।’
टिप्पणीहरू