सरकारको ध्यान अब यतातिर : खोप ल्याऊ,भोट ल्याऊ
प्रतिनिधिसभा विघटन र मध्यावधि घोषणा गरेको सत्तारुढ एमालेले कोरोना भ्याक्सिनलाई चुनावी एजेन्डा बनाउने भएको छ ।
कोरोना महामारीका बेला चुनावमा जाने सरकारको निर्णयको चौतर्फी आलोचना भैरहेकै पृष्ठभूमिमा एमालेले सबै नागरिकलाई खोप लगाउने र त्यसैको बलमा चुनाव जित्ने रणनीति बनाएको हो ।
यसको पुष्टि गर्दै बालुवाटारनिकट स्रोतले भन्यो, ‘हरेक जनतालाई खोप पुर्याउनु सरकारको जिम्मेवारी त हुँदै हो,साथसाथै चुनाव घोषणा भएको अवस्थामा यो हाम्रो राजनीतिक लडाइँ पनि हो । खोपलाई हामीले जीवन मरणको सवाल बनाएका छौँ । चुनावअघि नै सबै जनतालाई पुग्ने गरी खोप आउँछ ।’
पहिलो चरणमा ५० लाख डोज खोप खरिदका लागि प्रक्रिया शुरु भैसकेको स्रोत बताउँछ । भारत, चीन,अमेरिका र बेलायतबाट खोप खरिद प्रक्रिया शुरु गरिएको छ ।
‘जहाँ पाइन्छ त्यहाँबाट भ्याक्सिन किन्ने हो । अब त बजेटको पनि बाधा छैन,त्यसैले जनतालाई पुग्ने गरी खोप किन्नुपर्छ भन्नेमा सरकार पुगेको छ । अब पहिलाजस्तो अनुदानको खोप कुरेर बसिन्न’, स्रोत भन्छ ।
नागरिकले ‘नो खोप,नो भोट’, ‘मेरो मतपत्र छपाईको खर्च भ्याक्सिन खरिदमा’ जस्ता अभियानमार्फत सरकारमाथि दबाब बढाइरहेका बेला सरकारले खोप कूटनीतिलाई प्राथमिकता दिएको हो । राष्ट्रपति विद्या भण्डारीले बेलायत,चीन,रसिया र भारतका राष्ट्रपतिहरुलाई फोन र पत्राचार गरेर खोप माग्नुलाई त्यहि अर्थमा हेरिएको छ ।
बजेटको कार्यान्वयनमा पनि भ्याक्सिनको उपलब्धता जोडिएर आउने हुँदा सरकारको सम्पूर्ण ध्यान खोप खरिदमा केन्द्रित रहेको बताइन्छ । कोरोना महामारी अन्त्य नभए बजेट कार्यान्वयनमा बाधा पुग्ने र त्यसले चुनावमा पार्टीलाई कमजोर पार्ने आंकलन गरेर सरकारले तत्काल खोप ल्याउने कुरालाई उच्च प्राथमिकतामा राखेको निकट स्रोतको भनाइ छ ।
‘सरकारले लोकप्रिय बजेट ल्याएको छ । हाम्रो जीतको आधार नै यहि बजेट हो । तर बजेट कार्यान्वयनका लागि बजार खुल्नुपर्यो’,स्रोत भन्छ,’कोरोनाको एकमात्र निदान भनेको भ्याक्सिन नै हो । अहिले सरकारको सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित छ ।’
टिप्पणीहरू