एकातिरका ‘बा’ बलवान, अर्कातिरका ‘बा’ को बिजोग

एकातिरका ‘बा’ बलवान, अर्कातिरका ‘बा’ को बिजोग

नेपाली राजनीतिमा ‘बा’ हाबी भइरहँदा सिने क्षेत्रका ‘बा’ भने चरम संकटबाट गुज्रिरहेका छन् । फिल्म बनाउने फ्याक्ट्रीका रूपमा चिनिएका बाघ निर्माता छवि ओझाले ०४७ सालदेखि यता युगदेखि युगसम्म, नाता र जन्मभूमि, हिरो, कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत हुँदै लज्जालगायत सयौं हिट मुभी बनाए ।

उनैले जन्माए राजेश हमालदेखि रेखा थापा,  आर्यन सिग्देल, किशोर खतिवडा, शिल्पा पोखरेलसम्मलाई । सिने क्षेत्रमा सफल भए पनि पारिवारिक जीवनचाहिँ डामाडोल । छविकै शब्दमा उनको पहिलो बिहे ‘अनसक्सेस’, दोस्रो ‘ब्याडलक’, तेस्रो श्रीमती बनेर भित्रिएकी रेखा र छवि मात्र होइन, चौथी शिल्पा र छविबीच डिभोर्स गराउनमा समेत विकास रौनियार र सम्झना उप्रेती रौनियारहरू लागेको आरोप छ ।

यस्तो आरोप लगाउनेचाहिँ, केही दिनअघि उर्वशी, कसले चोर्‍यो मेरो मन, लंकालगायत दर्जनौं चलचित्रमा अभिनय गरेका र छविलाई बा अनि रेखालाई माई नाता लगाउने किशोर खतिवडा हुन् । जसले अघिल्लो साता मात्र आत्महत्याको प्रयास गरेका थिए ।  लक्ष्मी गदालसँग किशोर दुई वर्षदेखि लिभिङ टुगेदरमा थिए । अघिल्लो साता उत्कर्षमा पुगेको किशोर र लक्ष्मीको विवाद अहिले पानी परेपछिको आकाशझैं खुलेको छ ।

यता, छवि र शिल्पाबीचको मुद्दा अदालतमा विचाराधीन छ । किशोरले बताएअनुसार छवि र शिल्पाबीच जबर्जस्त विवाह गराइएको थियो, छविको सम्पत्ति खाने उद्देश्यले ।

छविसँग विवाह भएको केही वर्षपछि रेखा र छविलाई अलग गराउनेहरूले नै शिल्पा र छविलाई छुट्याउने खेल खेलेको र त्यो सफल भएको एक निर्माता सुनाउँछन् ।

काठमाडौं जिल्ला अदालतमा छवि र शिल्पाबीच एकसाथ चारवटा मुद्दा छ, सम्बन्ध विच्छेद, मानाचामल, अंश, बहुविवाह । शिल्पाको मुद्दाका कारण छविको सबै सम्पत्ति रोक्का भएकाले अहिले कुनै समयका बाघ निर्माताले कुनै फिल्म बनाइरहेका छैनन् । आयस्रोतको सबै बाटो बन्द भएपछि आफ्ना निकटस्थ, चिनजानका साथीहरूसँग ५-१० हजार सापटी मागेर जीवन गुजारिरहेका छन् ।

छविझैं अदालतमा मुद्दा खेपिरहेका कलाकारमा चाहिँ राजेन्द्र खड्गी, भुवन केसीहरू पनि छन् । राजेन्द्र खड्गीमाथि मानव बेचबिखनको मुद्दा छ भने भुवन केसीले नायिका साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् ।

अभिनेता भुवन केसीले साम्राज्ञी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार गाली बेइज्जती, चरित्र हत्यासम्बन्धी मुद्दा दर्ता गराएका हुन् । भुवनले साम्राज्ञीसँग १० करोड क्षतिपूर्तिको मागदावी गर्दै मुद्दा हालेका हुन् ।

यता, अंश तथा मानाचामल र डिभोर्सको मुद्दा हालेर छविको सबै सम्पत्ति रोक्का गरेकी शिल्पाचाहिँ भोजपुरी फिल्मतिर जम्न थालेकी छन् । उनले हालसालै भोजपुरी चलचित्र ‘जय शम्भू’ र ‘प्रेम गीत-२’ अभिनय गरेर फर्किएकी छन् ।

यद्यपि, शिल्पाले छविको सबै सम्पत्ति रोक्का नगरेको प्रष्टीकरण दिएकी छन् । शिल्पाका अनुसार उनले छविको जग्गा जमिन मात्र रोक्का गरेको भए पनि नियमित  पैसा आउने कान्तिपुर फिल्म एकेडेमी, डीसीएन, एफडी कम्पनी, इटहरीको एलाइट सिनेमा हल, दमकको डि सिनेमा हलबाट नियमित आम्दानी भइरहेको हुँदा छविले भनेजस्तो गुजारा चलाउन साथीहरूसँग ५ हजार,दश हजार सापटी माग्नुपर्ने स्थिति छैन ।

टिप्पणीहरू