अग्नि खरेल नेकपाको चुनावी चक्करमा
प्रधानमन्त्री केपी ओलीको कानुनी सल्लाहकार (महान्यायाधविक्ता) बाट भर्खरै राजीनामा दिनुभएका अग्नि खरेलका आँखा अब हुने भनिएको आम चुनावतिर मोडिएको छ । यतिबेला उहाँ झापा २ का टोलटोलतिर मर्निङ वाक गर्दै गरेको अवस्थामा भेटिनुहुन्छ । गत चुनावमा पनि यो ठाउँबाट उठ्न इच्छुक हुनुहुन्थ्यो । तर उहाँकै आफन्त १७ वर्ष जेल बसेका नरेश खरेलकी श्रीमती पवित्राले अन्तिममा टिकट पाउँदा ओलीले पवित्रालाई भन्नुभएको थियो, ‘त्यहाँबाट चुनाव जित्न गाह्रो हुन्छ । तपार्इंसँग पैसा छैन ।’
तैपनि, उहाँ उठेर जित्नुभयो । एउटी नेत्री भएका कारण विगतदेखि गुमेको निर्वाचनको परिणाम आफ्नो हात पार्नुभयो । तर, अहिले एमालेभित्र रडाको मच्चिरहेका बेला अग्नि खरेल यहाँबाट चुनाव लड्ने योजना बोकेर गाउँघर घुम्दै हुनुहुन्छ । यस क्षेत्रमा पर्ने बिर्तामोड नगरपालिकाका वडा–वडामा समानान्तर कमिटी बनाउन भ्याइनभ्याइ छ । यहाँ आधिकारिक नगर कमिटीको अध्यक्ष ज्ञानुराम प्रसाईं माधवकुमार नेपालतिरका हुन् । उनीविरुद्ध ओली टिमले मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीलाई समानान्तर कमिटी बनाएर लगेको छ । यहाँ ओलीको कमजोर स्थिति छ । उता, यही क्षेत्रको अर्जुनधारा नगर कमिटीको पार्टी अध्यक्ष पनि ओली टिमका हैनन् ।
यसैबीच ओलीको जिल्लास्थित पत्रकार महासंघमा प्रेस युनियनले चुनाव जितेको छ । भर्खरै सम्पन्न बिर्तावाल उद्योग वाणिज्य संघमा पनि कांग्रेसले नै जित्यो । यही निर्वाचन क्षेत्रमा पर्ने एउटा सामुदायिक वनमा प्रतिगमनविरोधी शक्ति एक भए । र, ओली टिमका उम्मेदवारलाई हराए ।
टिप्पणीहरू