पूर्वेली युवती यौनदुर्व्यवहारको शिकार
पूर्वकी एक युवतीले आफूमाथि पत्रकारले यौन दुर्व्यवहार गरेको सार्वजनिक गरेकी छन् । विर्तामोडकी ती युवतीले झापाका एक पत्रकारले यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी एक पत्रकारले यौन दुर्व्यवहार गरेको उनले खुलाएकी छन् । विर्तामोड सिटी सेन्टरमा आयोजित एक कार्यक्रम होस्ट गर्न गएका बेला आफूमाथि दुर्व्यवहार भएको उनको भनाइ छ ।
पत्रकारको नाम उल्लेख नगरी उनले फेसबुकमा लेखेकी छन्, ‘विर्तामोड सिटी सेन्टरमा एउटा कार्यक्रम होस्ट गर्न गएकी थिएँ । अर्को फ्लोरमा पत्रकार महासंघका नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम थियो । मेरो कार्यक्रम शुरु भएको थिएन । मलाई देखेर उहाँ (पत्रकार) म भएको ठाउँमा आउनुभयो । म बसेको कुर्सीनजिक बस्नुभयो । मलाई उहाँको प्रस्तुतिले असहज भैरहेको थियो ।’
उनले ती पत्रकारले स्याबासी दिए जसरी तिघ्रामा छोएको र आफूलाई असहज महसुस भएको बताएकी छन् । ‘उहाँले स्यावासी दिए झैं गरी मेरो तिघ्रामा छुनुभयो । मैले छोटो कपडा लगाएकी थिएँ । उहाँको छुवाइले मलाई पटक-पटक असहज महसुस गराएको छ’, आक्रोशित हुँदै उनले भनेकी छन्, ‘त्यतिबेला कार्यक्रम संचालन गर्न गएकाले मैले तत्काल प्रतिकार गर्न सकिन । त्यत्तिकैमा उहाँ त्यहाँबाट जानुभयो ।’
तिनै पत्रकारले यसअघि पत्रिकाको कार्यालयमै यौन दुर्व्यवहार गरेको उनको भनाइ छ । ‘कक्षा ११ मा पढ्थेँ,कहिलेकाँही लोकल पत्रिकामा मेरो आर्टिकल छापिन्थ्यो । एकपटक मेरो आर्टिकल छापिएको दिनको पत्रिका छुट्यो,भोलिपल्ट म त्यो पत्रिका लिन अफिस नै गएँ । त्यो बेला म पत्रकारबाट नजादिँदो तरिकाले ह्यारेस भएँ’,उनले भनेकी छन् ।
ती पत्रकारबाट पटक-पटक दुर्व्यवहार भएको भन्दै उनले कानूनी उपचार खोज्ने बताएकी छन् । ह्यासट्याग गर्दै लेखिन्, ‘अब सहिन्न ।’
टिप्पणीहरू