ओलीको निर्णय ‘पूर्वनिर्धारित र योजनाबद्ध’ : सुरेन्द्र पाण्डे
नेकपा एमाले ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि साविक नेकपाको विवाद एमालेमा देखिने गरी सरेको छ । सर्वोच्चको फैसलासँगै पार्टीलाई एकताबद्ध बनाउने नेता–कार्यकर्ताको अपेक्षा विपरित नेताहरूको शक्ति संघर्ष टकराउँदा एमाले विग्रह र विभाजनको दिशामा अघि बढेको छ । एउटा पक्षको पेलेर जाने र अर्को पक्षको नझुक्ने रणनीतिको शिकार यतिखेर एमाले बनेको छ । एकलौटी निर्णय, समानान्तर अभ्यास हुँदै कारबाहीको निर्णयसम्म पुग्दा अब सग्लो एमाले रहने सम्भावना क्षीण बनेको सोही पार्टीका नेताहरू बताउँछन् ।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई निलम्बन गरेपछि एमालेभित्रको रडाकोले विभाजनको रुप लिएको हो । पाण्डेले आफूहरूलाई निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णयलाई ‘पूर्वनिर्धारित र योजनाबद्ध’ भन्नुभएको छ । जनआस्थासँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो कदम पूर्वनिर्धारित र अपेक्षित नै थियो ।’
अध्यक्ष ओलीले नेपाल समूहले गुटगत क्रियाकलाप गरेर पार्टी नेतृत्वलाई चुनौती दिएको आरोप लगाउँदै चार नेतामाथि स्पष्टीकरण सोध्नुभएको थियो । नेता पाण्डेले भने आफूहरूले नभई ओलीले नै गुट चलाएको बताउनुभयो । ‘केपी शर्मा ओली गुटपरस्त मानिस हो । गुटबन्दी गर्दागर्दै उहाँले नवौँ महाधिवेशनपछि पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने र गुटद्वारा शासन गर्ने सिलसिलाकै पछिल्लो रुप हो,’ उहाँले भन्नुभयो ।
पाण्डेले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अध्यक्ष ओलीले इमान्दार नेता–कार्यकर्तामाथि कारबाहीको डण्डा बर्साएको आरोप लगाउनुभएको छ । उहाँले ओलीकै कारण तत्कालीन नेकपा विभाजित भएको र अहिले एमाले विभाजनको संघारमा पुगेको बताउनुभयो । ‘ओली एमाले र कम्युनिष्ट आन्दोलन समाप्त गर्ने दिशातिर लाग्नुभएको छ,’ पाण्डेको भनाई छ । ओलीले गरेको निलम्बनको निर्णयलाई नमान्ने भन्दै उहाँले आफूहरू विचलित नभएको समेत बताउनुभयो । ‘हामी कम्युनिष्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौं । घोषणापत्रमार्फत गरिएका वाचाहरू पूरा गर्छौं । थप सशक्त, अझ जुझारु र गम्भीर भएर अघि बढछौँ,’ उहाँले भन्नुभयो ।
ओलीले केही नेतालाई कारबाहीको डण्डा बर्साएर फरक विचार राख्नेलाई तर्साएको पाण्डेको भनाई छ । ‘फरक विचार राख्नेलाई कारबाहीको डण्डा बर्साएर अरुलाई तर्साउने र आफ्नो गुटमा लाग्न बाध्य पार्ने ओलीको योजना हो,’ पाण्डेले भन्नुभयो, यसबाट कोही बिचलित हुँदैन । बरु कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र पार्टीलाई फुटबाट जोगाउन अन्तिम प्रयास गर्छौँ ।’
यसअघि उपमहासचिव भुसालले पनि आफूसहितका नेताहरूमाथि गरिएको निलम्बनको कारबाही अपेक्षित नै रहेको बताउनुभएको थियो । अध्यक्ष ओलीले गरेको निलम्बनको निर्णयपछि प्रतिक्रिया दिँदै उहाँले पार्टी अध्यक्षका रुपमा ओलीले गरेका गतिविधिले लज्जित बनाएको भनी माफी माग्नुभएको थियो । ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बरबादीका लागि मैले दुनियाँसँग माफी माग्छु,’ भुसालले भन्नुभएको छ ।
भुसालले ओलीमा चरम व्यक्तिवाद हावी हुँदा पार्टी तहसनहस भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई आफूबाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने हो भने कुर्सी भाँची दिन्छु,’ यो उनी आफैले कबुल गरेको जीवनदर्शन हो । एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदले, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’
ओलीले लोकतन्त्रलाई समेत कमजोर बनाएको भुसालको टिप्पणी छ । अध्यक्ष ओलीलाई चुनौती दिँदै उहाँले आफूहरू सबै प्रतिकूलताको सामना गर्न तयार रहेको पनि बताउनुभएको छ । ‘उनले (ओलीले) हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ,’ भुसालको भनाई छ ।
नेकपाको एकता बदर गर्दै फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएको थियो । एमाले ब्युँतिएपछि बैठक कुरेर बसेको खनाल–नेपाल पक्षलाई बाहिरै राखेर अध्यक्ष ओलीले फागुन २८ गते महत्वपूर्ण निर्णय गरेपछि एमालेमा विग्रह शुरु भएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आफूनिकट नेताहरूको बैठक राखेर केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेर र महाधिवेशनको मिति तोक्ने निर्णय गर्नुभएको थियो ।
टिप्पणीहरू