बलात्कारलाई बढावा नदेऊ न पुरुष
– शोभा दुलाल
हाम्रोजस्तो पितृसत्तात्मक सोच र संस्कृति भएको समाजमा बलात्कारजस्तो जघन्य अपराधलाई गम्भीररुपमा लिइँदैन । जसले गर्दा बलात्कृत महिला र उसको परिवार नै त्यस पीडासँग जुध्ने एक्लो परिवार बन्छ । पीडित महिलाले मात्रै शारीरिक र मानसिक दुवै प्रकारको पीडा एकैपटक सहन बाध्य हुनुपर्छ । प्रहरीमा उजुरी गर्नसमेत नदिएर बलात्कारीलाई सजायँको लागि पहल गर्नु त कहाँ हो, कहाँ उल्टो पीडितलाई नै अपराधीसरहको व्यवहार गरिन्छ ।
न्यायको ढोकामा पुग्नसमेत नदिने कथित कचहरीका सबैलाई कानुनी सजायँ गर्ने परिपाटीको विकास नभएसम्म बलात्कार भइ नै रहन्छ । बलात्कारलाई सामान्य घटना मानेर स्थानीय ठूलाठालुले मिलापत्र गराउने, पीडितलाई सामान्य क्षतिपूर्तिको आश्वासन दिने भनेर ढाँट्ने र त्यो कहिल्यै नदिने, अनि मिल्न नचाहनेलाई ज्यान मार्ने धम्की दिने । बलात्कार गर्नु भनेको यसो बाटोमा हिँड्दा धक्का दिएर लडाएको र त्यसको चोटपटकको क्षतिपूर्ति भरेजस्तो हो ? बलात्कारीहरू धेरैजसो पहुँचवाल हुने अनि बलात्कृतचाहिँ निम्छरा, समाजको पिँधमा रहेका भुइँमान्छेका छोरीचेलीहरू हुने । त्यसमा पनि दलित युवतीहरू बढी पीडित हुने ।
बलात्कार गरेको र त्यो उच्च पहुँचवाला भएपछि उसको संरक्षण गर्ने कुरामा प्रहरीको समेत मिलेमतो भएको भन्न सकिन्न र ? नत्र सामूहिक बलात्कारको उजुरी लिएर जाँदा घटना दर्ता नै नगर्ने कस्तो प्रहरी ? एक त उजुरी दर्ता नहुने, कथं भइहालेमा पनि पीडकले न्याय पाउने निश्चितता नहुने । सामुहिक वा एकल बलात्कारपछि हत्या नै भएको छ भने त्यस घटनाको विरोध अलि बढी हुने । योग्यता, क्षमताको कुनै वैज्ञानिक प्रयोगशालाले नतिजा दिने हो र महिलाको दिमागले पुरुषले जति सोच्न सक्दैन भन्नलाई ? शारीरिक श्रमको निरन्तर अभ्यासले महिलाको कार्यक्षमता बढाउन सकिन्छ ।
लामो समयको निस्क्रियताले त पुरुषको कार्यक्षमता पनि घट्न सक्छ । दुई पुरुषमा को बलशाली दाँज्न मिल्छ त ? महिला र पुरुषमा बल दाँज्ने कुरै होइन, त्यो फरक जातिमा दाँज्नुजस्तै भएन र ? महिलाले जस्तै गर्भ बोक्न पुरुषले सक्छ भनेर दाँज्नुजस्तै भएन र ? दुवैमा शारीरिक बनावटको ढाँचा नै फरक छ । अनि आ–आफ्ना छुट्टाछुट्टै विशेषता र महत्व भएका जातिहरूमा दाँजेर, एउटालाई कमजोर भनी निस्कने, निकाल्ने हाम्रो कस्तो सोच ? त्यसैले एकले अर्कोलाई महत्व दिएमा नै यो संसारको सृष्टि चल्ने हो, यदि त्यसो हुन नसक्ने हो भने महिला र पुरुष एकअर्काका दुश्मन हुनुपर्ने हुन्छ । नत्रभने एउटा पुरुषले अपराध गर्दा अरु पुरुष पनि आरोपित हुने अवस्था बन्छ ।
एउटा महिला अपराधको शिकार हुँदा अरु महिलाले पनि त्यस्तै शिकार आफू पनि हुनसक्ने सम्भावनाको त्रासमा डुब्ने हुन्छ । हामी सबैले आफूलाई स्वच्छ राख्न सक्यौं भने मात्र अरुमा भएका फोहोरलाई सफा बनाउन सक्छौं । आफूले अलिकति जान्ने भएदेखि नै पुरुषले सिक्ने कुरा भनेको महिलामाथि हक जमाउने हो ? उसलाई यो गर, यो नगर भन्नै पर्दैन । घरमा बाले आमामाथि चलाएको हैकम देखेरै उसले त्यही सिक्छ, पुरुष भनेका महिलाभन्दा उत्कृष्ट हुन्, त्यसैले निर्णय लिने अधिकार खासमा बासँग हुन्छ, जबकि घरको जिम्मेवारी मुख्यरुपमा आमाले निभाइरहेकी किन नहुन् ।
आदिम कालमा कतिपय सत्य, मिथ्याहरू थिए । यदि समय, परिवेश, भूगोल, मौसमजस्ता परिस्थितिअनुसारका संस्कार, संस्कृतिको आविष्कार नगरेको भए मान्छे र अरु जनावरमा भिन्नता नै हुन्नथ्यो । हजुरआमाका पालामा जाँतोमा अन्न पिसिन्थ्यो भने आजभोलि मिलमा पिसिन्छ । धानबाट चामल निकाल्न ओखल, ढिँकीमा कुट्नुपथ्र्यो भने अहिले मिलमै कुटिन्छ । अब हाम्रो परम्परा त ढिँकी, जाँतो हो भनेर अघि नबढ्ने हो भने मानवसभ्यता उही ढुंगे युगमा नै रुमल्लिएर बस्ने थिएन र ? जीवन जिउन विभिन्न खोज, अनुसन्धान प्रयोग हुँदै गर्दा मानव जातिले ठूला आणविक बमदेखि लामा–लामा क्षेप्यास्त्रको निर्माण गरिसकेको छ तर यही अवधिमा फेरि आफैंसँगको सहधर्मी स्त्रीलाई चाहिँ किन सधैं हेयको दृष्टिले हेर्छ अनि त्यहीअनुरुप उसलाई यातना, प्रताडना दिन छोड्दैन, त्यसमध्ये सबैभन्दा ठूलो प्रताडना बलात्कार हो ।
पुरुष हुँदैमा उच्चताबोधले मखलेल हुनुपर्ने, साह्रै महत्वपूर्ण कुरा के छ, जो स्त्रीमा छैन । स्त्री पनि स्त्रीकै कोखबाट जन्मने हो, पुरुष पनि स्त्रीकै कोखबाट जन्मने हो । अझ प्रक्रिया र अवधिसमेत उही हो । कोही आफ्नो इच्छाले स्त्री वा पुरुष भएर जन्मन पाउने होइन । आफ्नो इच्छाले जे गर्न सकिँदैन, त्यसमा एकले अर्कालाई उच्चता र निचताको कसीमा तौलनु नै मूर्खता होइन र ?
आफ्नै आमा जातिलाई प्रताडनाले डाम्न पाउँदा सबभन्दा खुशी हुन, क्रुर हुन पुरुषले कहाँबाट, कसरी सिक्यो ? बलात्कार झन् जति शिक्षित र विकसित भयो, उति बढ्ने किन भइरहेको छ ? यसको उत्तर आमनागरिकले खोज्नुपर्छ । बलात्कार पितृसत्ताको स्त्री पीडक एउटा अस्त्र हो । बलात्कार निर्मूल गर्न पहिले पितृसत्ता निर्मूल गर्न आवश्यक छ । हाम्रा हरेक संस्कार, संस्कृति, पितृसत्तात्मक छन् । हाम्रो संस्कृतिभित्र भाइपूजा छ, बहिनीपूजा छैन । श्रीमान पूजा छ तर श्रीमती पूजा छैन । श्रम गरिखान पर्ने वर्ग र श्रम गराएर खाने वर्गमा विभेद भएको कारणले पनि बलात्कार बढाउन प्रेरित गरिरहेको छ ।
धनी, ठूला पदधारी, तिनका छोरा, नातिले निम्छरा मान्छेका छोरी, चेलीमाथि बलात्कार गर्ने अनि निजले न्याय माग्दा, त्यसको त्यत्रो हिम्मत ? जाबो दुई÷चार सय दिए भइहाल्यो वा त्यसलाई कोही गुण्डासुन्डा लाएर न्याय माग्न जानै रोके भयो अनि उसलाई त बलात्कार ग¥यो, उसका घरपरिवारलाई समेत धम्की दिने जो मानसिकता उच्चवर्ग, मध्यमवर्ग अझ त्यही चिन्तन र चेतना निम्न मध्यम वर्गमा समेत भएकाले समाजमा बलात्कारका घटनाहरू बढेका छन् ।
यद्यपि कानुनमा करणी कसुरमा उमेर र अवस्था तथा घटनाको प्रकृतिअनुसार पाँच वर्षदेखि बीस वर्षसम्म कैद सजायँ हुनसक्ने प्रावधान छ । दोषीलाई सजाय, माफी वा मिनाहा हुन नसक्ने व्यवस्था छ तर यथार्थ व्यवहार भने किटानी जाहेरीपश्चात् दोषीलाई प्रमाण अपुगको बहानामा उन्मुक्ति दिने, त्यसपछि दोषीहरूले आफ्नो अपराध दोहो¥याइरहन मौका पाउने गरेको घटना सार्वजनिक भइरहेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धेरैजसो बलात्कारका घटना आफन्त, चिनेजानेका, विश्वासिला पात्रबाट घटाइएका हुन्छन् । त्यसैले महिलाले अञ्जान मान्छेसँग भन्दा आफन्त र चिनेकै मान्छेहरूबाट बढी सतर्क, सचेतना अपनाउनुपर्छ । तर महिलामा विश्वास गरेपछि आँखा चिम्लेर गर्ने, शंका गरेपछि पनि आँखा चिम्लेर गर्ने कमजोरी छ ।
त्यसलाई फेर्दै विश्वाससँगै शंका गर्दै सचेत हुने, शंका गर्दै विश्वास गर्ने हो भने बलात्कारका घटना केही नियन्त्रण गर्न सकिन्छ ।
टिप्पणीहरू