नेपाल पक्षको ताजा निर्णय

नेपाल पक्षको ताजा निर्णय

नेकपा एमाले (नेपाल–खनाल) पक्षको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ ।

लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा सम्पन्न बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,नेतृ अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री सुरेन्द्र पाण्डे,रघुजी पन्त, गोकर्ण बिष्ट,घनश्याम भुषाल, योगेश भट्टराईलगायतको उपस्थिति थियो ।

बैठकमा प्रदेश सांसद माधव पौडेल,राजबहादुर बुढा,पशुपति चौलागाईं,अखिल नेपाल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई,केन्द्रीय सदस्य ठाकुर गैरे, रामकुमारी झाँक्री पनि हुनुहुन्थ्यो । काठमाडौँमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा छलफल भएको एक नेताले जानकारी दिए ।

बैठकले पार्टीलाई विधि,पद्धतिअनुसार चलाउन र थप बलियो बनाउन आजको संसदीय दलको बैठकमा सांसदहरु जाने निर्णय गरेको ती नेताले बताए । झलनाथ खनाल लगायतका अन्य सांसदहरुको उपस्थितिमा भएको छलफलमा पार्टीभित्र बसेर संघर्ष गर्ने निष्कर्ष अनुसार दलको बैठकमा जाने निर्णय भएको हो ।

दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दलको बैठक बालुवाटारमा बोलाउनु भएको छ। यसअघिका बैठक बहिष्कार गरेको नेपाल-खनाल पक्ष आजको बैठकमा भने सहभागी हुने निष्कर्षमा पुगेको हो ।

टिप्पणीहरू