ठक्करले युवती ठाउँको ठाउँ ठहरै

ठक्करले युवती ठाउँको ठाउँ ठहरै

बसको ठक्करले युवतीको ज्यान गएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा गोली चलेको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदलयात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि आन्दोलनमा उत्रेका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका थिए । आन्दोलनले उग्र रुप लिन थालेपछि हवाईफायर गर्नुपरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको जानकारी दिए । तनाव बढेपछि सामान्य बल प्रयोग गरेको उनको भनाइ छ । उनले केही सेल अश्रुग्याससमेत प्रहार गरिएको बताए ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको र अवस्था सामान्य भएको थापाले जानकारी दिए । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू