नक्कली प्रमुख सचेतकले ह्वीप लगाउन सक्दैन : रावल

नक्कली प्रमुख सचेतकले ह्वीप लगाउन सक्दैन : रावल

नेकपा (बहुमत) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई तर्साउन नक्कली पात्र खडा गरेको बताउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेताले अस्तिमात्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई सो पदमा नियुक्त गर्नुभएको थियो । रावलले प्रधानमन्त्री ओलीले नियुक्त गर्नुभएको प्रमुख सचेतकलाई नक्कलीको संज्ञा दिनुभएको हो ।

रावलले पार्टीमा कारबाहीमा परिसकेको मान्छेले ह्वीप लगाएर संसदहरुलाई तर्साउन ‘आफ्नो मान्छे’ लाई प्रमुख सचेतक नियुक्त गरेको बताउनुभयो । नक्कली सचेतक खडा गरेर धम्की दिएपछि कोही उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने नठान्न पनि रावलले चेतावनी दिनुभयो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘दलका नेताले कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुई तिहाई सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

रावलले पार्टीको ह्वीप मान्न सांसदहरु बाध्य नहुने पनि बताउनुभयो । ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको उहाँको भनाई छ । रावलले प्रधानमन्त्री ओलीको धम्कीबाट सांसदहरु नडराउने पनि प्रष्ट पार्नुभयो ।

उहाँले पार्टीको आधिकारिकताको विषयमा पनि निर्वाचन आयोगलाई अलमलमा नपर्न आग्रह गर्नुभयो । झन्डै दुई तिहाई सदस्यले प्रमाणित रुपमा आयोगमा दाबी प्रस्तुत गरिसकेको भन्दै उहाँले योभन्दा अर्को कानुन के चाहियो भनि प्रश्न गर्नुभयो । हामीलाई नागरिकताको प्रमाणपत्रसहित निर्वाचन आयोगमा उपस्थित हुन निर्देशन गरोस् हामी कटिबद्ध भएर बहुमत सिद्ध गर्छौँ,’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू