आफ्नो कार्यक्रम, आफ्नै मान्छे अनुपस्थित

आफ्नो कार्यक्रम, आफ्नै मान्छे अनुपस्थित

यस्तो कार्यक्रम जहाँ आफ्नै गुटका सांसद आएनन् । महत्वपूर्ण कार्यक्रममा जम्मा १३ जना मात्र सांसद उपस्थित भए । यी कर्मचारी पनि हदै गर्छन् । प्रेस सल्लाहकारलाई मञ्चमा अतिथिको आसन ग्रहण गराउँछन् तर संसदीय दलका प्रमुख सचेतकको नामसम्म पनि लिँदैनन् ।

प्रदेश १ सरकारले उपलब्धि जानकारी गराउन सोमबार विराटनगरमा आयोजना गरेको तेस्रो वार्षिकोत्वस कार्यक्रममा नेकपा संसदीय दलतर्फ ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बर्बराउँदै थिए । हुन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले आयोजना गरेको उक्त महत्वपूर्ण कार्यक्रममा मुस्किलले १३ जना सांसद मात्र सहभागी भएका थिए । जबकि सभामुख, उपसभामुख, मन्त्री र राज्यमन्त्रीबाहेक पनि प्रदेशमा ८६ जना सांसद छन् । बिहान तामझामसहित आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी १३ जनामध्ये ४ जना मुख्यप्रतिपक्षी दल कांग्रेस र १ जना प्रतिपक्षी जनता समाजवादीका मात्र थिए । सत्ताधारी दल नेकपा ओली पक्षका सांसद ८ जना ।

अघिल्ला वर्षझैँ धुमधामले वार्षिकोत्सव मनाउन मुख्यमन्त्री शेरधन राईले मन्त्रालय परिसरमा दिवा खानासहित दुई सयभन्दा बढी अतिथिका लागि आकर्षक मञ्च निर्माण गर्न लगाएका थिए । कार्यक्रममा सहभागी हुन सबै प्रदेश सांसदलाई एसएमएसबाट निम्तो थियो । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरू अविश्वासको प्रस्ताव दर्ता भइसकेका मुख्यमन्त्री राईले बोलाएको कार्यक्रममा अवैधानिक भन्दै नैतिकताको कारण देखाएर सहभागी भएनन् । यता, कांग्रेसका सांसदहरूले चाहिँ देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला प्रदेश सरकारको कार्यक्रममा जान उचित ठानेनन् । वार्षिकोत्सव कार्यक्रममा निजी क्षेत्र र नागरिक समाजका अतिथिहरूको उपस्थिति पनि न्यून थियो । तीन वर्ष पुगेको अवसरमा प्रदेश १ सरकारले गोजीपुस्तिका सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध १२ पुसमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । तर, उनले संसद्मा अवरोध गरेर आयु जबर्जस्ती लम्ब्याइरहेका छन् । मुख्य प्रतिपक्षी दल कांग्रेसले मात्र नभएर सबै प्रतिपक्षीले संसद् सञ्चालनमा अवरोध नगर्न आग्रह गरिरहेका छन् । नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीसँग संसद्मा मात्र जम्काभेट गर्ने भनेको छ ।

प्रदेश १ मा नेकपाको ६७, मुख्यप्रतिपक्षी कांग्रेसको २१, जसपाको ३, राप्रपाको १, संघीय लिम्बुवानको १ सहित जम्मा ९३ सांसद छन् । नेकपाका ६७ मध्ये प्रचण्ड–माधव समूहले आफूहरूसँग ४२ जना र ओली समूहले ३० भन्दा बढी सांसद रहेको दाबी गर्दै आएका छन् ।

– गणेश लम्सालबाट

टिप्पणीहरू