पार्टीमा दरार, पाइलैपिच्छे हार
माघ १४ मा प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका सो समूहका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेललाई इतर समूहका युवाहरूले कालो झण्डा देखाए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अघिल्लो दिनदेखि बेंसीशहरमै थिए । कार्यक्रमलाई निष्प्रभावी पार्न खोजिए पनि दाहाल, नेपाल समूहले राम्रै कार्यकर्ताको जमघट गरायो । जिल्ला सभा हलको खचाखच प्रमुख वक्ता सुरेन्द्र पाण्डे हौसिएर जमिन्द्रमान घले र मेयर गुमानसिंह अर्याललाई क्षणिक लालाचमा नफसी घर फर्कन उद्घोष गरे । हिजो नेपाल समूहमा लागेर निकै पेलानमा परेका लमजुङका चर्चित नेता जमिन्द्रमान घलेलगायतले म्यादी केन्द्रीय सदस्यको पद नकार्न नसक्नुको कारण भने बेग्लै रहेछ ।
नवौं महाधिवेशनमा केपी ओली पक्षधरबाट राम्रै डामिएपछि ७ मतले मात्रै केन्द्रीय सदस्यमा पराजित भए घले । लमजुङका १२ जना महाधिवेशन प्रतिनिधिमध्ये उनले एकजनाको मात्रै मत पाएका थिए । जमिन्द्रमानलाई मत हालेकै कारण क्षमता र योग्यता पुगेर पनि पार्टीमा सधैं पछाडि पारिए हीरालाल बिक । घले माधवनिकट भएकै कारण पेलानमा परे पनि दिलु पन्तहरू केन्द्रीय कमिटीमा मनोनीत हुँदै गर्दा चित्त नदुखोस् पनि किन !
लमजुङमा जमिन्द्रमान घले, बेनपाका मेयर गुमानसिंह अर्याल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, युवा नेता सुभाष पौडेलहरू ओली पक्षतिर छन् । लामो समय जेलनेल खाएका तत्कालीन माओवादीका जिल्ला इञ्चार्ज मोहनहरि पौडेल व्यक्तिगत तुषका कारण ओली कित्तामा लागेको धेरैको अनुमान छ । मध्यनेपाल नगरपालिकामा मेयरको उम्मेदवार बनाइएका पौडेललाई आफ्नै पार्टीका नेता–कार्यकर्ताको असहयोग गरेका थिए ।
यता, पार्टी कार्यालयमा ताला लागेको छ । पूर्वमाओवादी नेत्री मधु अधिकारी पार्टी अध्यक्ष बनेदेखि नै असन्तुष्ट केहीले मदन आश्रित स्मृति भवनमा उनको प्रवेशलाई रुचाएको थिएन । संसद् भंगसँगै ओली पक्षधर युवाहरूले कार्यालयमा लगाएको ताला सोमबार खोली सञ्चालनमा ल्याइएको छ । उता, पार्टीको यही विग्रहले उद्योग वाणिज्य संघ र सुन्दरबजार खानेपानी उपभोक्ता समितिको निर्वाचनमा नेकपा समर्थित उम्मेदवारले लज्जास्पद हार व्यहोर्नुपरेको छ ।
टिप्पणीहरू