हँसाउने केपी ओली
प्रधानमन्त्री केपी ओलीले हरेक भाषणमा हँसाउँदै मान्छे तान्न थालेपछि दाहाल–नेपाल समूहलाई आपत परेको छ । दाहाल–नेपाल समूहका जति पनि नेताहरू छन् ।
जम्मै क्रान्तिकारी भाषणमा माहिर छन् । तर अहिलेको जमानामा क्रान्तिकारी भाषण कसले सुन्छ ? अहिले हाँस्ने हँसाउने जमाना हो । त्यसैले भीड त्यहीं मात्र जम्मा हुन्छ जहाँ हाँस्न पाइन्छ । अहिले देशमा हाँस्ने र हँसाउन सक्ने मान्छे कोही छ भने त्यो केपी ओली एउटै मात्र हो । हाँस्ने र हँसाउने कुरामा अहिले केपी ओलीलाई टक्कर दिन सक्ने मान्छे कोही जन्मेकै छैन भन्दा नि हुन्छ । त्यसो त अहिले देशको अवस्थै यस्तो छ कि यहाँ केपी ओलीबाहेक अरु हाँस्न सक्ने वातावरणै छैन ।
संसद भंग भएर लोकतन्त्रै खत्तम होला जस्तो अवस्था छ, यस्तो बेला लोकतन्त्रवादीहरू कसरी हाँस्ने ? संविधान मिचिएकोले संविधानै खत्तम होला जस्तो हो, संविधानवादीहरू कसरी हाँस्ने ? बलात्कारका घटना फेरि बढ्न थालेका छन्, महिलाहरू कसरी हाँस्ने ? सर्वोच्च अदालतै ‘सेटिङ’मा चल्न थालेको चर्चा छ, न्यायप्रेमीहरू कसरी हाँस्ने ? बजार भाउले आकाश छुन खोजिरहेको छ, गरिब कसरी हाँस्ने ? हाँस्न सक्ने त कोही पनि छैन । कोही छ भने त्यो केपी शर्मा ओलीबाहेक अरु हुनै सक्दैन । अनि उहाँकोमा भीड नलागे अरु कहाँ लाग्छ ?
टिप्पणीहरू