म्यानमार प्रेस काउन्सिलबाट राजीनामा
म्यानमार प्रेस काउन्सिलका १२ जना सदस्यले राजीनामा दिएका छन् । सेनाले हालै गरेको ‘कू’ लगत्तै त्यहाँको प्रेस स्वतन्त्रतालाई प्रतिबन्धित गराउँदै धेरै वटा नियम जारी गरिएपछि आफूहरु सञ्चारकर्मीको सुरक्षा गर्न असमर्थ रहेको बताउँदै काउन्सिलका सदस्यहरुले राजीनामा दिएका हुन् ।
सैन्य शासनपछि विभिन्न सञ्चारगृह र संस्थाबाट सञ्चारकर्मीहरुले समेत धमाधम राजीनामा दिएको बताइन्छ । फेब्रुअरी १ मा सूचना मन्त्रालयले त्यहाँको प्रेस काउन्सिललाई दिएको निर्देशनमा भनिएको छ ‘मिडियालाई नैतिक र सार्वजनिक अशान्तिबाट समाजलाई जोगाउने किसिमले मात्र समाचारको रिपोर्टिङ्ग गर्न अभिप्रेरित गर्नु ।’ सबै खालका मिडियालाई लागू हुने उक्त निर्देशनअनुसार सैन्य शासन वा जुन्टाको बारेमा केहि पनि उल्लेख गर्न पाइने छैन ।
म्यानमार प्रेस काउन्सिलका संयुक्त सचिव यू मिन्ट क्याले हालको अवस्थामा सञ्चारकर्मीहरूलाई सुरक्षा प्रदान गर्न निकै गाह्रो भएको बताउनुले पनि म्यानमारको पछिल्लो अवस्थालाई दर्शाएको छ । त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएअनुसार पछिल्ला केही दिनमा पक्राउ परेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीहरुले निर्घात् कुटपिट गर्ने क्रम बढेको छ ।
‘अहिलेको अवस्थामा पत्रकारहरूको सुरक्षा गर्न सजिलो नभएकाले हामीले काउन्सिलबाट राजीनामा गर्यौं,’ यू मायन्टले भनेका छन् । यसैबीच सैन्य शासकले आयोजना गरेको प्रेस सम्मेलनमा आयोजकको तर्फबाट भएको हस्तक्षेपपछि म्यानमार टाइम्सका दर्जनौं सम्पादक र पत्रकारले समेत राजिनामा दिएका छन् ।
म्यानमार टाइम्सका एकजना सम्पादकले भने ‘त्यस्तो सैन्य सेन्सरशीपअन्तर्गत काम गर्न लाजमर्दो भएको छ ।’ तर सरकारी अधिकारीहरुले भने न्यूजरूममा सेन्सरशीपको आरोपलाई अस्वीकार गर्दै भनेका छन् ‘हामीले उनीहरूलाई सूचना मन्त्रालयका निर्देशनहरूको पालना गर्न र मिडियाको रूपमा तटस्थ रहन आग्रह गरेका हौं ।’
टिप्पणीहरू