श्रीमानहरुप्रति सिंह बिश्वस्त

श्रीमानहरुप्रति सिंह बिश्वस्त

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रर्दशन गर्ने क्रममा आज कास्कीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले हुनै नसक्ने चुनाव घोषणा गरेको बताउनुभएको छ । ओलीले चुनाव गराउनेभन्दा पनि आफ्नो सत्ता लम्ब्याउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर चुनावको पासा फ्याँकेको सिंहको आरोप छ ।

उहाँले भन्नुभयो,‘संविधान मिचेका ओलीले चुनाव गराउनुहुन्छ भनेर कसैले पत्याउँछ भने त्यसलाई रामराम मात्रै भन्न सकिन्छ,’ उहाँले थप्नुभयो ‘प्रधानमन्त्री ओलीले आफैँलाई कानुन र आफैँलाई संविधान ठान्नुभएको छ । त्यसैले तानाशाही शासक बन्नुभएको छ ।’

नेता सिंहले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले न्यायमूर्तिहरूले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिने विश्वास लिँदै भन्नुभयो ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे,तर अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो । त्यसैले अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो,आज पनि छ । तर,सर्वोच्चले आफ्नो गरिमा कायम राखेर निर्णय गर्नेछ ।’

सिंहले संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेकै चेक एन्ड व्यालेन्स रहेको उल्लेख गर्दै कार्यपालिकाले व्यवस्थापिकामाथि प्रहार गर्दा न्यायपालिकाले सच्याउनुपर्छ भन्नुभयो । ‘प्रतिनिधिसभा पुनर्बहाली भएमा मुलुकको राजनीति नेपालीको हातमा रहने अन्यथा शक्तिकेन्द्रहरूको चलखेल हुने’ उहाँको ठहर छ ।

टिप्पणीहरू