सिमानाबारे के भन्दैछ सेना !
नेपाली सेनाले जंगी अड्डामा हालै आयोजना गरेको आन्तरिक तथा वाह्य सुुरक्षासम्बन्धी कार्यक्रममा परम्परागत भौतिक उपस्थितिको विकल्पमा उच्च प्रविधिको कुरो उठेको छ । अहिले विश्वमा प्रविधिले आन्तरिक तथा वाह्य सुरक्षाको लागि समेत सुरक्षाकर्मी सशरिर उपस्थित हुननपर्ने बनाइदिएको छ । छिमेकी चीनले हिजोआज बेइजिङ्गमा बसेर नेपालसँगको सीमा नाका ओलाङ्गचुङ्गोलाको अनुगमन गर्नु त्यहि प्रविधिको उच्चतम प्रयोग हो । अन्य देशसँगका सीमा नाकामा हुने भौतिक उपस्थिति पनि प्रविधिबाटै अनुगमन हुने गरेको छ ।
त्यहि अनुगमनको प्रत्यक्ष अनुभव नेपाली सुरक्षा अधिकारीहरूलाई सरकारी कार्यक्रममा जाँदा चिनियाँ अधिकारीहरूले बेइजिङ्गमा देखाएका थिए । उनीहरूको अनुभवमा प्रविधिको प्रयोगले भौतिक उपस्थितिको आवश्यकतालाई स्वतः घटाउँछ ।
नेपालको सन्दर्भमा पनि हाम्रा मुख्य नाकाहरूमा कम्तिमा यत्रतत्र हुनेगरी फौज नराखे पनि काँडे तार वा प्रविधिबाट निगरानी गर्नुपर्ने आवश्यकता उठेको छ । तर यसतर्फ सरकारको सुको लगानी छैन । प्रविधिको प्रयोगले आफूहरूलाई ‘अन्यथा’ गर्न अप्ठेरो पर्ने भएपछि सरकारी कर्मचारीले सँधै प्रविधिको प्रयोगलाई दुरुत्साहन गर्ने गरेको चारवटै सुरक्षा निकायका अधिकारीहरूको तीतो अनुभव छ ।
उनीहरू भन्छन् ‘प्रविधिको प्रयोगबाट मूलतः तस्करी,अनियमितता र घुस खुवाउने र खानेलाई सजिलै नियन्त्रण गर्छ । अहिले सरकारी कार्यालयमा राखिएका सामान्य सीसीटीभीका कारण मानिसहरू गैरकानुनी कार्य गर्नबाट निकै हच्किएको पाइन्छ । त्यो एउटा सानो प्रविधिले समेत अनियमितता गर्नेलाई आतंकित बनाएकोले प्रविधिको प्रयोग र त्यसको उपयोगितालाई जोड दिन ढिलो गर्न हुँदैन ।’ सरकारले जतिसुकै डिजिटल नेपाल भनेर कुर्लिए पनि नेपालमा नेतृत्वमा अटोमेशन अर्थात् यान्त्रिकीकरण नचाहनेहरूको बहुमत देखिन्छ ।
सीमा व्यवस्थापनको सन्दर्भमा पर्खाल लगाउनुपर्ने वा काँडे तार लगाउनुपर्ने आवश्यकता देखिन्छ होला । तर त्यो भनेको दीर्घकालीन योजना हो । तत्कालको लागि नीतिगत रूपमा सीमा व्यवस्थापन भनेको यो यो हो भनेर स्पष्ट हुनुपर्ने बेला आइसकेको नेपाली सेनाले बताउन थालेको छ । उसले सीमा व्यवस्थापनमा सेना, सशस्त्र, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीलाई स्पष्टसँग कार्य विभाजनका साथ दोहोरो पर्न नदिने गरी नीति र कार्यविधि बनाउनुपर्नेतर्फ औंल्याएको छ । उसले अन्य प्रशासनिक तह र निकायलाई कसरी परिचालन गर्ने भन्ने एउटा गाइडलाइन बनाएर सेनालाई निर्देशन दिनुपर्ने बेला आइसकेको बताएको छ ।
हालै जंगी अड्डा र सशस्त्रको मुख्यालयमा भएको छलफल सीमानामा खटिएका साझेदार निकाय सेना, सशस्त्र, प्रहरी, अनुसन्धान विभागका प्रतिनिधिहरूबीच भएको आन्तरिक र विशेष थियो । हाम्रो छिमेकतिर हेर्ने हो भने पनि भारतले पाकिस्तानबाट छुट्याएर बनाइदिएको मुलुक हो बंगलादेश । भारत र बंगलादेशको सीमामा वारपार बिजुलीको काँडेतार लगाइएको छ । छलफलमा आवश्यकता पर्यो भने नेपालले समेत त्यसो गर्नुपर्ने कुरो उठेको थियो । तर हाम्रोमा पर्खाल, काँडेतार र सुरक्षा निगरानी धेरै टाढाको विषय भएपनि बेलाबखत अनुगमन समेत गर्न खोजिँदैन । तीनतिर खुल्ला बोर्डर छ,आपराधिक कार्यहरू भइरहेको छ । उताको सामान्य सुरक्षाकर्मी यता आएर आफ्नो काम फत्ते गर्छ । हेपाहा प्रवृत्ति घटेको छैन बढेको बढ्यै छ । सेनाको भनाई त्यसलाई अनुगमन गर्नुपर्छ भन्ने मात्र हो ।
टिप्पणीहरू