नेकपा (बहुमत) ले पाँच ठाउँबाट उपत्यका घेर्ने

नेकपा (बहुमत) ले पाँच ठाउँबाट उपत्यका घेर्ने

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरे पश्चात् आन्दोलनमा उत्रिएको नेकपा (बहुमत) ले पूर्वघोषित कार्यक्रमअनुसार माघ २८ गते बुधबारको जनप्रदर्शन तथा विरोधसभाको लागी स्थान र नेतृत्व तय गरेको छ ।

उपत्यकाका तीन जिल्लालगायत बाहिरका विभिन्न जिल्लाबाट कार्यक्रममा आउने नेता तथा कार्यकर्ताहरुको जुलुस तथा जनप्रदर्शनलाई व्यवस्थित बनाउन राजधानीमा पाँच आर्कलाई केन्द्रबिन्दु बनाउने तयारी गरेको आयोजकले जानकारी दिएको छ ।
उपत्यकाको पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमललगायत पाँच ठाउँबाट जुलुश प्रदर्शन गर्ने तयारी रहेको छ । उक्त स्थानको नेतृत्व नेकपा (बहुमत) पक्षका नेताहरुले गर्ने तयारी रहेको केन्द्रीय संघर्ष समितिले बताएको छ ।

विरोध प्रदर्शनको पाँच आर्कमध्ये पुल्चोक आर्कबाट कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतको नेतृत्वमा निस्कने जुलुश पुल्चोक, कुपण्डोल, थापाथली, सुन्धारा हुँदै मूलसभामा परिणत हुने कार्यक्रम र रुट तय भएको छ ।

त्यसैगरी त्रिपुरेश्वर आर्कबाट अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको नेतृत्वमा निस्कने जुलुश त्रिपुरेश्वर, सुन्धारा हुँदै मूलसभामा परिणत हुनेछ भने माइतीघर आर्कबाट अमृत बोहोरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, गणेश शाह, मातृका यादवलगायतको नेतृत्वमा माइतीघर, थापाथली, त्रिपुरेश्वर हुँदै मूलसभातर्फ अगाडी बढने आयोजकले जानकारी दिएको छ ।

केशरमहल आर्कबाट देवप्रसाद गुरुङ, भीम रावल, शक्तिबहादुर वस्नेत, देवेन्द्र पौडेललगायतको नेतृत्वमा केशरमहल, दरवारमार्ग, तीनधारा पाठशाला, असन, कमलाक्षी, ईन्द्रचोक, जुद्ध शालिक, न्युरोड हुँदै नारा जुलुससहित मूलसभामा मिसिने छ । त्यसैगरी जमल आर्कबाट लिलामणि पोखरेलको नेतृत्वमा निस्कने जुलुश जमल, कमलाक्षी, असन, ईन्द्रचोक, जुद्ध शालिक, न्युरोड हुँदै मूलसभामा परिणत हुने तयारी गरिएको छ ।

नेकपा (बहुमत) ले आयोजना गरेको प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्धको जनप्रदर्शन तथा विरोधसभामा सहभागी हुन विभिन्न जिल्ला, प्रदेश, स्थानीय निकायले समेत आवश्यक तयारी पूरा गरेको आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू