भनियो तीस, दिने चालिस !
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सोमबार लाखबत्ति बाल्ने क्रममा पशुपतिनाथ मन्दिरमा पुगेर सुनको जलारी हाल्ने प्रयोजनको लागि ३० करोड रूपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो । त्यहिबमोजिम सरकारले फास्टट्य्राक विधिबाट निकाशा पनि गरिसकेको छ । जलारी हाल्न १ सय ८ केजी सुन चाहिने भएपछि पशुपति क्षेत्र विकास कोषले आफ्नो कोषबाट ५० करोड हाल्ने निर्णय गरेको छ । त्यतिले पनि नपुग्ने भएपछि झण्डै १० करोड थपको लागि सरकारलाई अनुरोध पठाइएको छ ।
आगामी शिवरात्री अघि नै जलारी राख्ने तयारी गरिरहँदा कालिगढको ज्याला खर्च भने सरकार र कोष दुवैले नब्यहोर्ने भएका छन् । स्रोतका अनुसार झण्डै आधा करोड ज्याला लाग्ने भएपछि उक्त रकम दाताबाट उपलब्ध गराउने योजना बनाइएको छ । त्यत्रो पैसा कसले देला र ? भनेर सोधिएको जिज्ञासामा कोषका एकजना पदाधिकारी भन्छन् ‘रातारात धन कमाएर उम्लिएकाहरू प्रधानमन्त्रीसँग नजिक हुन पाउने लोभमा जतिपनि खन्याउन तयार भएर बसेका छन् ।’
‘मुखमा माड छैन, खोपडामा पाउडर’ भनेझैँ मन्दिरमा झण्डै १ अर्ब खर्चेर जलारी हाल्नु अहिले समय सान्दर्भिक काम नभएको कोषका कर्मचारीहरूले समेत स्वीकारेका छन् । उनीहरू भन्छन् ‘बरु चुनाव गर्ने र गराउने नै हो भने त्यसको लागि रकम जोहो गरे हुन्थ्यो । कोरोनाविरुद्धको खोप खरिद गरिएको भए हुन्थ्यो । दुर्गम भेगमा अस्पताल, पुल, बाटो, विद्यालय, स्वास्थ्य चौकी, खानेपानीको व्यवस्थामा खर्च गरिएको भए कति बेश हुन्थ्यो !’ चुनावको मुखमा हिन्दूहरूलाई आकर्षित गर्ने मनसायसहित हचुवाको भरमा दिइएको आदेशले सबैलाई अप्ठेरो भएको उनको तर्क छ ।
प्रधानमन्त्रीले आफ्ना निकट, सम्पदा विज्ञ, अर्थमन्त्री कसैसँग पनि सल्लाह नगरी मनमौजी पाराले ३० करोडको वचन दिएको यसबीचका घटनाक्रमले समेत पुष्टि गरेको छ । यस्तो काम यसअघि कहिल्यै पनि पशुपतिमा नभएको पर्यटन तथा सँस्कृति मन्त्रालयस्थित स्रोतले बताएको छ । राष्ट्रिय योजना आयोगले स्वीकृत गरेका पशुपतिका आयोजनाहरूमा नेपाल सरकारले अनुदान रकम दिन्थ्यो । त्यसमध्ये खर्च नभएको रकम मात्र फिर्ता लैजान्थ्यो । अहिलेको जस्तो विशेष निर्देशनबाट करोडौं रूपैयाँ कहिल्यै प्राप्त नभएको स्रोतको दावी छ ।
साइनबोर्ड र लेटरप्याडमा कम्युनिष्ट सरकार भनिँदैमा कम्युनिष्ट नहुने भनेर नेकपा समर्थित हिन्दू धर्मावलम्बीहरूले नै सामाजिक सञ्जालमा उछित्तो काढेका छन् । उनीहरूले अनुत्पादक क्षेत्रमा ठूलो रकम खर्च गर्नेहरु कहिल्यै कम्युनिष्ट नहुने बताए । धार्मिक हिसाबले व्याख्या गर्दै उनीहरू भन्छन् ‘जति धेरै जनता हाँसिखुशी हुन्छन्, भगवान शिव पनि त्यसैगरी दंग पर्नुुहुन्छ । शिव वास्तवमा मन्दिरमा सीमित हुन चाहनुुहुन्न । वहाँ अनन्तकोटी ब्रह्माण्डमा व्याप्त हुनुहुने भएकाले कण कणमा रहनुुहुन्छ’, भन्दै स्रोतले थप्यो ‘भाँङ्, धतुरो सेवन गर्ने, साँढेमाथि चढ्ने, शरीरभरि खरानी घस्ने, बाघको छाला ओढ्ने र सर्पको गहना लगाउने प्रभूलाई त्यो १ सय ८ केजी सुनको के काम ? प्राणीप्रति व्यक्त हुने प्रेम, करुणा र दयाको भोको हुनुहुने भएकाले वहाँलाई प्रेमपूर्वक बेलपत्र अर्पण गरे पुग्छ । सुन चाहिँदैन । बरु हिन्दूधर्म र शास्त्रमा जलारी तामाको नै पवित्र मानिन्छ जुन आदिमकालदेखिको प्रचलन पनि हो ।’
अर्कोतर्फ यसबीच अन्य धर्मावलम्बीहरूले त्यसैगरी आफ्ना धार्मिकस्थलको लागि रकम माग गरेमा प्रधानमन्त्रीले के गर्नुहुन्छ होला ? मुलुकमा तोकिएको प्रक्रिया, विधि र बजेटबाटै सबैलाई आर्थिक व्यवहार गर्नुपर्छ भनिन्छ । तर, जहाँ पुग्यो त्यहिँ बोलेर रकम तोकिदिने पारालाई के भन्ने ?
टिप्पणीहरू