मधेशी नेताहरू चुनावमा ठाउँ सर्दै

मधेशी नेताहरू चुनावमा ठाउँ सर्दै

चुनाव हुन्छ कि हुँदैन ? कसैले भन्न सक्ने अवस्था छैन । तर, कोही नेता निर्वाचन क्षेत्र रोज्न हिँडिसकेका छन् । अहिले जसपा नेता राजेन्द्र महतो विराटनगरमा छन् । त्यसअघि तीन दिनसम्म सप्तरीका विभिन्न ठाउँ पुगे । कारण हो, सार्लही र धनुषा छाडी अबको चुनाव त्यहाँबाट लड्ने मनशाय । उनले सप्तरी १ वा ४ मध्ये कुनै निर्वाचन क्षेत्र रोजेका छन् ।

नेकपाको कुनै समूह वा कांग्रेससँग गठबन्धन नगरी १ नं. क्षेत्रमा जानु घातक हुन्छ किनभने, त्यहाँको जनसंख्यामा मधेसी र पहाडेको संख्या झण्डैझण्डै बराबरी छ । भारदहदेखि कञ्चनपुर हुँदै फत्तेपुरसम्म पर्छ, क्षेत्र नं. १ । त्यसपछिको अर्को रोजाई हो, क्षेत्र नं. ४ । यहाँचाहिँ ८० प्रतिशत मतदाता मधेसी, मुस्लिम र थारु छन्, बाँकी पहाडे । त्यहाँका सांसद हुन्, मृगेन्द्र यादव । उपेन्द्र यादवले सप्तरीको क्षेत्र नं. २ बाट जितेका थिए । फेरि पनि त्यही क्षेत्रमा चुनाव लड्न जाने मनस्थितिसहित जिल्ला आवतजावत व्यापक पारेका छन् । उक्त क्षेत्रमा सदरमुकाम राजविराजसहित मधेसीबाहुल्य बस्तीहरू पर्छन् । सप्तरीको क्षेत्र नं. ३ रेणु यादवको हो । रेणु उपेन्द्र यादवको पूर्वफोरमकी नेता । तर, पछिल्लो समय उनीहरूको सम्बन्ध पहिलाको जस्तो घनिष्ट छैन । यो स्थितिमा उपेन्द्रले रेणुलाई लाइनबाट हटाउन राजेन्द्र महतोलाई लैजाने गरी खेल्न खोज्छन् भन्ने त्यहाँका नेताहरूको अनुमान छ । त्यसो गर्दा पूर्वमधेसी दलका दुई अध्यक्ष सप्तरीबाट लड्ने भनेर अलग माहोल बनाउने प्रयास हुनसक्छ ।

अहिले मधेसकेन्द्रित दलहरूको गतिविधि पहिलाजस्तो लोकप्रिय छैन । पछिल्लो मधेस आन्दोलन असफल भएकै हो । ०७२ मा नरुचाएर बोर्डरमा धर्ना बसिएको त्यही संविधानको अहिले सबभन्दा ठूलो संरक्षक र पक्षपाती हुने प्रयासमा उनीहरू छन् । अब मधेसको एजेण्डामा भोट माग्न चाहँदैनन् । त्यसरी गयो भने धेरैखाले प्रश्नको सामना गर्नुपर्ने स्थितिका कारण फरक भूमिका खोजिरहेका छन् ।

टिप्पणीहरू