हितेन्द्रले दिए कुलमानलाई हैरानी

हितेन्द्रले दिए कुलमानलाई हैरानी

अहिले मुलुकमा कामचलाउ भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले जे भन्यो त्यहि चल्छ । देशको कार्यकारी प्रमुख, उहाँले चाहेको कुरा नहुने भन्ने पनि भएन । विभिन्न राजनीतिक नियुक्तिदेखि कर्मचारीको सरुवा, बढुवासम्म आफ्नालाई च्याप्ने ओलीको पुरानै बानी हो । उहाँले मन पराएपछि ज्यान जाला छोड्नुहुन्न भनिन्छ ।

ओलीले चाहेमा कुनै पनि विषयलाई कसरी सेटल गरिँदो रहेछ भन्ने कुराको पछिल्लो उदाहरण बनेका छन्, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य । १८ घण्टे लोडसेडिङ अन्त्य गरेर हाईहाई कमाएका कुलमान घिसिङलाई अर्को एक कार्यकाल प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई नागरिकस्तरबाट समेत दबाब थियो ।

युवाहरुले सडकमै उत्रेर घिसिङको पक्षमा नाराबाजी नै गरे । तर, प्रधानमन्त्रीको मनमा घिसिङ घुस्न सक्नुभएन । बरु,शाक्यलाई निमित्त कार्यकारी बनाएर घुसाइयो अनि घिसिङलाई पन्छ्याइयो । त्यतिबेलै धेरैले अनुमान गरेका थिए,अबको कार्यकारी निर्देशक शाक्य नै हुने हो भनेर । नभन्दै, हिजो सोमबार बेलुकाको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा कन्फर्म गरेको छ । शाक्य थर भएकाले प्रधानमन्त्री पत्नी राधिका शाक्यको नातेदार रहेको भन्ने बजार हल्ला पनि चल्यो । तर, राधिका पाटनकी खाँटी हुन् भने हितेन्द्र पूर्व इलाममा जन्मेका हुन् । अहिले बसोबास भने उनको पनि ललितपुर जिल्लामै छ,त्यसैले प्रधानमन्त्रीको रोजाइमा ससुराली नै नभएपनि ससुराली थरले महत्व पाएको चर्चा छ । एकथरीले चाँहि शाक्य एमसीसीमा बसेर काम गरेको र त्यसको पक्षमा खुलेरै बोलेकाले पनि प्रधानमन्त्रीको रोजाईमा परेका हुन भनेका छन्

कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिँदा शाक्य उपकार्यकारी निर्देशक थिए । त्यतिबेला उनलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’ बाट काज फिर्ता गरेर जिम्मेवारी दिइएको हो । प्रधानमन्त्रीको रोजाइमा परेकै कारण वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ काेइरालालाई किनारा लगाएर शाक्य निमित्त बनेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

यसअघि मन्त्रालयले प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्ने गरी बनाएको कार्यविधिलाई यसपटक धोती लगाइएको छ । यसले ‘आफ्ना हुञ्जेल टिप्ने,अरुको भए पिट्ने’ रणनीतिलाई पनि उजागर गरिदिएको छ । हुन तः प्रधानमन्त्रीको आशिर्वाद परेपछि गुरु भट्टराईजस्ता साइबर सेनाले त सरकारी नियुक्ति टप्काएका छन् भने शाक्य त कम्तिमा त्यहिँका कर्मचारी हुन् । त्यसैले हितेन्द्रले बाजी मारेरै छाडेको प्राधिकरणका कर्मचारीहरुको निचोड छ ।

टिप्पणीहरू