हार्नेलाई हाइसञ्चो, जित्नेलाई हैरानी

लाटो हिसाब गरिन्छ, ‘कम्युनिष्ट फुट्दा वा सकिँदा कांग्रेस बलियो हुन्छ !’ तर, अहिले हेर्दा यो कुरा सत्य हैन रहेछ !

शहरका सडकभरि हेरौँ, दुवैतिर नेकपा भरिभराऊ । संसद पुनःस्थापना भएछ भने चाहे एक हुन् वा विभाजित अवस्थामै किन नहुन्, त्यहाँ पनि नेकपाकै ताँती । सभापतिका व्यक्तिगत रुची जेजस्तो भए पनि संस्थागत रुपमा कांग्रेस पुस ५ को कदमलाई असंवैधानिक भन्ने लाइनमै छ । भन्नलाई त ऊ पनि आन्दोलनमै छ । नेकपाभित्र किचलो, अनि देशमा यत्रो बितण्डा निम्त्याउने पनि नेकपाकै प्रधानमन्त्री । यस्तो बेला नेपाली कांग्रेसले उचित स्पेश किन पाएन ? किनभने, सडक प्रदर्शन हेर्दा नेकपाका दुबै पक्षसँग अकल्पनीय जनसागर छ । कांग्रेसका प्रदर्शनमा फाट्टफुट्ट मान्छे निस्किएका छन् । कारण हो, अझै पनि केही पाइहालिएला कि भन्ने सभापति देउवाको भाउँतोमा परेर कांग्रेस यता न उता हुनु । त्यसैले लाटो हिसाब बेकारको रहेछ, कम्युनिष्ट फुटेर कांग्रेस बलियो नहुँदो रहेछ । कांग्रेस चुनावको एक दिन जाग्ने, अरु बेला घामपानीको दुःखमा नफस्ने रहेछ ।

अर्कातिर, कांग्रेसमा ज–जसले ०७४ को चुनाव जितेका थिए, उनीहरूलाई फेरि पनि पुनःस्थापनाभन्दा चुनावमा जाने हतारो छ । तर, त्यही चुनाव हारेकाहरूचाहिँ पुनःस्थापनाको पक्षमा बलियोसँग उभिएका छन् । जस्तो कि, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, शेखर कोइरालाहरू । चुनाव हारेकालाई किन पनि हतारो छैन भने, विगतमा उनीहरू जहाँ–जहाँबाट, जे–जे कारणले हारे, अब त्यो परिस्थिति आउँदैन, त्यसमाथि नेकपाको बढ्दो अलोकप्रियताका कारण जहिले चुनाव भए पनि जितिन्छ । तर, जितेकाहरूले राम्रो काम गर्न सकेनन् वा सरकार आफ्नो नहुँदा जिल्लामा यथेष्ट योजना लैजान नसक्नाले हारिहाल्छु कि भन्ने डर छ । त्यसैले नेकपामा धाँजा फाटेकै बेला चुनाव भइहाले अर्को पाँच वर्षको सांसद सुरक्षित हुन्छ भन्नेमा देउवा खेमा पुगेको विश्लेषण एकथरि कांग्रेसको छ ।

लेखकको बुझाइ

केही दिनअघि नेकपाका एकजना नेतासँग कुरा गर्दा देउवा निकटस्थ नेता रमेश लेखकले अहिलेको परिस्थितिलाई यसरी विश्लेषण गरेका छन्, ‘गाउँघरमा रहेका हाम्रा ९० प्रतिशत कार्यकर्ता चुनावको पक्षमा छन् । किनभने, कांग्रेस सरकारमा नभएको तीन वर्ष भइसक्यो । आफ्नो पार्टी सरकारमा हुँदाको ढलिमली, शान र मान अलग्गै थियो । त्यसमा उनीहरूलाई न्यास्रो लागिसकेको छ । उनीहरू कम्युनिष्ट दबदबाबाट पनि आजित भएका कारण छिट्टै कम्युनिष्टमुक्त मुलुक चाहन्छन् । देशमा यस्तो परिस्थिति निर्माण भएपछि हाम्रैनिम्ति दुई वर्षअघि नै चुनाव हुँदै छ भनेर चुनाव पक्षधर भएका हुन् । तर, शहरमा त्यस्तो स्थिति छैन । शहरका जनता चुनाव र राजनीतिक दलका गतिविधिसँग आजित छन् ।’ अनि, लेखकले ती नेतासँग भने, ‘हामी पार्टी जोगाउने खेलोफड्कोमा पनि लाग्नुपरेको छ । त्यसैले चुनावबाट किन भाग्ने ? अदालतले जे गर्छ, गरोस् ।’ यहीँनेर कांग्रेस कार्यकर्ता नेतृत्वप्रति आशंकित देखिन्छन्, अदालतको फैसला मान्छौं भन्नु के छुट्टै एजेण्डा हो ? मान्दिनँ कसले भन्छ अनि नमानेर सुख छ ? जब मान्नै पर्छ भने मान्छु कि मान्छु भन्दै ताँती लागेर जाऊँ कि नजाऊँवाला अल्छीलाग्दो आन्दोलनमा किन जाने ?

पार्टीमा आफ्नो सुविधाजनक बहुमत हुँदाहुँदै प्रचण्डले रामचन्द्रमार्फत विषय अभिव्यक्त गर्न खोजेकाले रहेछ देउवा बिच्किएको । ‘मेरो एजेण्डा रामचन्द्रलाई बोकाउने ? म हुँदाहुँदै कांग्रेसको तर्फबाट रामचन्द्रलाई बोल्न उकास्ने ?’, देउवाको भनाई उद्धृत गर्दै लेखकले ती नेकपा नेतालाई सुनाए । अनि, देउवाबारे आफ्नो बुझाई पेश गरे, ‘शेरबहादुर दाइ थोरै बोल्नुहुन्छ, तर त्यसमा अडिरहनुहुन्छ ।’ संसद पुनःस्थापना भएपछि तिमी प्रधानमन्त्री हौ भनेर नेकपाका दुबै पक्षले भनेको कुरा पनि लेखकले सुनाए । अनि, शेरबहादुरका निम्ति चुनाव भए पनि प्रधानमन्त्री, पुनःस्थापना भए पनि प्रधानमन्त्री भन्ने आश्वासनले खुशी तुल्याएको छ । ‘तर, शेरबहादुर दाइ बोल्नुभएको छैन’, लेखकले ।

ओली र देउवाबीच मिल्तीको सार सुनाए, ‘पावर शेयरिङ’ को । ओलीसँग पहिला प्रचण्ड–माधव हुँदा उनीहरूसँग पनि शेयरिङ गर्नुपथ्र्यो । अब उनीहरू बाहिरिए । त्यता पावर शेयरिङ गर्नु नपरेपछि देउवाको भाग बढ्यो । पहिला कांग्रेसलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति दिने भनिएको थियो । तर, राष्ट्रपतिको सिफारिसमा धर्मकान्त बाँस्कोटालाई लानुपर्ने बाध्यतामा प्रधानमन्त्री परेपछि त्यो कुरा त्यसै सेलायो । त्यसपछि त्रिविकै रेक्टर दिने भनियो । तर, रेक्टर प्रचण्डको मान्छे भए । अब यस्तो नहुने भयो, प्रचण्ड–माधव नहुँदा आफ्नो पल्ला भारी भएको देउवाको ठहर छ ।

चिनियाँ चासो

कहिलेकाँही नेताहरू सोच्दै नसोचेका मान्छेसँगको जम्काभेटमा कसरी पर्ने रहेछन् भन्ने कुरा यसचोटि कांग्रेस सभापति शेरबहादुर देउवाले राम्रोसँग बुझ्नुभयो ।

पुस ५ को संसद विघटनपछि सत्तारुढ नेकपामा विकसित विग्रहपूर्ण परिस्थितिलाई साम्य पार्ने उद्देश्यका साथ चिनियाँ कम्युनिष्ट पार्टीको एउटा टोली काठमाडौं उत्रियो । वास्तवमा उनीहरूले नेकपाको दुबै पक्षका नेतासँग कुरा गर्न र समाधानको बिन्दु पहिल्याउन चाहेका थिए । तर, चिनियाँ टोली अकस्मात् बूढानीलकण्ठस्थित देउवा निवास पनि पुग्यो । स्वयं देउवाले पनि आफूकहाँ चिनियाँ नेता आउलान् र नेकपाको झगडाबारे कुरा गर्लान् भन्ने सोच्नुभएको रहेनछ । त्यसरी चिनियाँहरू देउवाकहाँ पुग्नुको कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफबाट दिक्दार हुनु ।

प्रचण्डले केपीबाट संसद् विघटनको निर्णय फिर्ता लिए वा पुनःस्थापना भए मिल्न सकिने भन्नुभयो । यही कुरा गर्न उनीहरू ओलीकहाँ पुगे । तर, ओलीले पुनःस्थापना वा विघटन सच्याउने कुनै सम्भावना नभएको र आफू कुनै पनि खाले त्याग गर्न तयार नभएको बताउनुभयो । बरु, शेरबहादुर देउवा आफूसँग सकारात्मक भएको भन्दै उनीसँग मिलेर अघि बढ्नेसम्मको कुरा गर्नुभयो । ओलीले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट पार्टी चीनको जस्तो हैन, पार्टीले जे–जे भन्यो, त्यही–त्यही मान्नुपर्ने बाध्यता यहाँको कम्युनिष्ट पार्टीसँग छैन । तपाईंहरूको सदाशयताका निम्ति धन्यवाद’ यसपछि चिनियाँ टोलीले देउवासँग पो नेकपा मिलाउने कुनै सूत्र छ कि भन्ने अनुमान गर्दै बूढानीलकण्ठको बाटो रोज्यो । वामदेवलाई पनि भेट्न गयो ।

त्यहाँ पुग्नासाथ देउवाले पनि केपीकै शैलीमा सोध्नुभयो, ‘तपाईंहरू किन आउनुभएको ?’ चिनियाँहरूले भने, ‘यो पार्टीहरूबीचको नियमित छलफल हो । त्यसमा तपाईंसँग केही सुझाव पाइन्छ कि भनेर भेट्न आयौँ ।’ देउवाले पनि ओलीकै बोलिमा लोली मिलाउँदै पुनःस्थापनाको सम्भावना नै नरहेको भनेपछि उनीहरू त्यहाँ पनि दिक्दार भए ।

यसरी चिनियाँहरूले नेपालको विवादमा गर्न केही सकेनन् । बरु, चिनियाँहरू सल्बलाएको देखेर भारतीयहरूको सल्बलाहट बढेको बताइन्छ । नेकपा मिलोस् भनेर अस्ति सोमबारसमेत चिनियाँ टोली भैंसेपाटीको चक्कर काटिरहेको थियो ।

टिप्पणीहरू