भारत एशियाकै सबैभन्दा ‘भ्रष्ट देश’

भारत एशियाकै सबैभन्दा ‘भ्रष्ट देश’

ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणले दक्षिण एशियाली राष्ट्रमध्ये भारतमा सबैभन्दा धेरै अर्थात् समग्रमा ३९ प्रतिशतसम्म घुसखोरी हुने गरेको देखाएको छ । अन्यत्रको तुलनामा एशियाली देशमा सबैभन्दा बढी घुस खुवाउने प्रचलन रहेको र सार्वजनिक निकाय तथा सरकारी कार्यालयको काम ४६ प्रतिशतभन्दा बढीले व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा फत्ते गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा ५० प्रतिशत नागरिकले सार्वजनिक निकायबाट कुनै पनि काम गराउँदा घुुस दिने गरेको र ३२ प्रतिशतले व्यक्तिगत चिनजानको अभावमा आफ्नो काम नभएको समेत बताएका छन् । इन्टरनेशनलले एशियाली १७ वटा मुलुकका २० हजार जनामा करिब एक वर्ष लगाएर गरेको सर्वेक्षणमा उक्त तथ्य देखिएको हो । यस क्रममा ती देशका प्रहरी, अदालत, सार्वजनिक अस्पताल र टेण्डर प्रक्रियामा सहभागी सार्वजनिक निकायलाई समेटिएको थियो ।

भारतमा प्रहरीसँग सम्पर्कमा आएका ४२ प्रतिशतले घुस खुवाउनुपरेको बताएका छन् भने ४१ प्रतिशतले अतिरिक्त रकम नबुझाएसम्म प्रहरीले नियमानुसार दिनुपर्ने वा फिर्ता गर्नुपर्ने कागजातसमेत नदिने गरेको बताएका छन् । त्यसैगरी व्यक्तिगत चिनजान र सम्पर्कको आधारमा काम गर्नेमध्ये प्रहरीमा ३९ प्रतिशत, टेण्डर प्रक्रियामा ४२ प्रतिशत र अदालतमा ३८ प्रतिशत मानिस देखिएका छन् । अन्य सरकारी तथा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न घुस खुवाउनुपर्ने चलन भारतमा अझै पनि महामारीझैँ फैलिरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।

घुसखोरी र भ्रष्टाचार रोक्न भारतमा केन्द्र र राज्य सरकार दुवैले सुव्यवस्थित तरिका अपनाउन ढिलो भइसकेको इन्टरनेशनलले सुझाएको छ । उसले भनेको छ ‘भारतले सार्वजनिक सेवाका लागि प्रशासनिक विद्यमान प्रक्रिया, घुस र नातावाद तथा कृपावादविरुद्ध लड्न प्रभावकारी उपाय अवलम्बन गर्न ढिलो भइसकेको छ ।’

अहिले विश्वका घुस लेनदेन र भ्रष्टाचार हुने १ सय ८० राष्ट्रमध्ये भारत ८० औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणमा नेपालका ५८ प्रतिशत र थाइल्याण्डका ५५ प्रतिशत नागरिकले आफ्नो मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएको पनि उल्लेख गरिएको छ ।

टिप्पणीहरू