सबै श्रेणीहरू

गगन जित्ने,महेश हार्ने काँग्रेस नेताको निश्कर्ष

गगन जित्ने,महेश हार्ने काँग्रेस नेताको निश्कर्ष

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत माघ ५ गते धनुषाको जनकपुरमा आयोजना गरेको चुनावी सभामा व्यक्त बालेन साहको धारणाबारे सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका साहले जनमासलाई मैथिलीमा सम्बोधन गर्दै "मधेसी ‘छौरा’ पीएम बनतै" भनेका थिए । 

मैथिलीमा ‘छौरा’ भनेको छोरा, बाबु वा ठिटो हुन्छ । त्यसलाई अनर्थ लगाउँदै नेकपा एमालेका केन्द्रीय सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले ‘छाउरा’ भनेपछि विषय मोडिएको थियोे । सामाजिक सञ्जालमा लेख्दै ‘छाउरा’ भनेपछि सर्वत्र विरोध भयो । नेपालीमा कुकुरको बच्चालाई ‘छाउरा’ भनिन्छ । विरोधपछि उनले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेर माफी मागेका थिए ।

यता नेपाली काँग्रेसका केन्द्रीय सदस्य अष्टकुमार कबेले जनजाति तथा मधेशी जनतालाई होच्याउँदै गालीगलौज र अपमान गर्ने काम बस्नेतबाट हुँदै आएको उल्लेख गरे । बस्नेतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउँदै जनआस्थासँग उनले भने,‘आफ्नो मातृभाषा मैथिलीमा ‘छौरा’ शब्द प्रयोग गर्दा बस्नेतले ‘छाउरा’ भनि सार्वजनिक रुपमै अनर्थ लगाउने काम गरेका छन् । यो राम्रो काम होइन । उनले सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ 

कबेले अगाडि थपे,‘बस्नेतले जनतासँग कुनै विवेक नै नभएको व्यवहार गर्दै आएका छन् । यस्तो अभिव्यक्तिले उनलाई चुनावमा डुबाउने पक्का छ ।’ काँग्रेस सभापति गगन थापाको नेतृत्वले राजनीतिमा नयाँ ऊर्जा र उत्साह थपेको उनको दाबी छ । राष्ट्रिय नेतालाई मधेशीले जिताउनु गर्वको विषय भएको बताउँदै सर्लाही क्षेत्र नम्बर ४ बाट थापाले चुनाव जित्नेमा उनी ढुक्क देखिन्छन् ।