सबै श्रेणीहरू

विदेशी सभापति

विदेशी सभापति

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई विदेशीले बनाइदिएको सभापति रे !

हामीले होइन, स्वयम् कांग्रेसी नेताहरूले भनेको । अब कांग्रेसको कुरा कांग्रेसीलाई भन्दा बढी अरू कसलाई थाहा होला ! तर कुरा सुन्दा अनौठो लाग्यो ।

गगन थापा विदेशीले बनाइदिएको सभापति ! गज्जब छ । नेपालमा सडक विदेशीले बनाइदिन हुने, पुल विदेशीले बनाइदिन हुने, जलविद्युत् परियोजना विदेशीले बनाइदिन हुने, कलकारखाना विदेशीले बनाइदिन हुने, अनि एक थान सभापतिचाहिँ विदेशीले बनाउन नहुने ? देशको पूरा संरचना विदेशीले बनाइदिँदा ठीक । नेताहरू जम्मैलाई विदेशीले मिलाइदिए पनि ठीक ।

अनि आज कांग्रेसको एउटा सभापति विदेशीले बनाइदिएकै  भए पनि त्योचाहिँ बेठीक ? नेपालीहरूको च्वाइस देख्दा अनौठो लाग्छ । उनीहरूलाई जुत्ता मेड इन इटाली चाहिने, कमिज मेड इन फ्रान्स चाहिने, घडी मेड इन स्वीट्जरल्याण्ड चाहिने, गाडी मेड इन जापान चाहिने, प्यान्ट मेड इन चाइना चाहिने, कट्टु मेड इन इण्डिया चाहिने ।

अनि पार्टीको सभापतिचाहिँ मेड इन नेपाल चाहिने ? हेर्नोस्, नेपाल मेडको कुनै भरोसा छैन । नेपाल सरकारले समेत नेपालमा बनेका वस्तुमाथि विश्वास गर्दैन । त्यसैले बेला बेला छापा मारेर गुणस्तर टेस्ट गरिरहेको हुन्छ । विदेशी वस्तुको गुणस्तर टेस्ट गर्दैन । किनभने विदेशी वस्तुमाथि पूरा भरोसा छ । विदेशी भनेपछि त्यो गुणस्तरीय नै हुन्छ । टिकाउ हुन्छ, बलियो हुन्छ, भरपर्दो हुन्छ । अब कांग्रेसले यस्तो टिकाउ, बलियो र भरपर्दो सभापति पाउँदा के चाहियो चारतारालाई ?