गत भदौको 'जेन-जी' (Gen Z) विद्रोहबाट नेपालको मक्किएको राजनीतिक संस्कार अन्त्येष्टि हुने अपेक्षा गरिएको थियो । तर,आगामी फागुन २१ को चुनाव नजिकिँदै गर्दा एउटा तीतो यथार्थ छर्लङ्ग भएको छ-हामीले पुराना सिण्डिकेटलाई प्रविधिमा पोख्त तर उस्तै अहंकारले भरिएका पपुलिष्ट (लोकरिझ्याइँ गर्ने) पात्रहरूबाट मात्र प्रतिस्थापन गरेका रहेछौं । पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेयर बालेन साहबीचको गठबन्धन १२ दिनमै टुट्नु सामान्य राजनीतिक खटपट मात्र होइन; यो त कथित 'वैकल्पिक' शक्ति असफलताको स्पष्ट पोस्टमार्टम हो ।
नेपालको लोडसेडिङ अन्त्य गरेर जनताको मन जितेका कुलमान घिसिङ जब रास्वपा-बालेन शिविरमा छिरे,तब माहोल निकै तातिएको थियो। तर,त्यो उत्साह दुई हप्ता पनि टिकेन । पर्दापछाडि यी 'नयाँ' नेता पनि त्यही पुरानो 'भागबण्डा'को फोहोरी खेलमा अल्झिएका देखिए,जसको उनीहरू सधैं विरोध गर्थे । वार्ताको टेबुलबाट आएका विश्वसनीय समाचारअनुसार,यो गठबन्धन ऊर्जा नीति वा संघीयताको एजेण्डामा नभई 'वरियता' र 'पद'को अहंकारका कारण टुटेको हो । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र घिसिङलाई पार्टीको तल्लो वरियतामा खुम्च्याउने अडान राखेपछि एउटा कुरा स्पष्ट भयो-यो शिविर पनि पुराना दलहरू जस्तै पद र शक्ति बाँडफाँडमै लिप्त छ । यदि यी पात्रहरू एउटा तस्विरमा को,कहाँ बस्ने भन्ने विषयमा १२ दिनसम्म मिलेर बस्न सक्दैनन् भने,उनीहरूले पाँच वर्षसम्म देश कसरी चलाउलान् ?
यति मात्र होइन,२०८२ को चुनाव जित्न रास्वपाले अपनाएको रणनीति केवल अंक गणितको खेलमा सीमित भएको छ । चुनावी विजयका लागि पार्टीले कुनै विचार वा सिद्धान्तको ख्याल नगरी विवादास्पद सामाजिक अभियन्ता र अन्य दलका भगौडाहरूलाई भित्र्याउने 'डम्पिङ साइट' जस्तो बनेको छ । पर्याप्त सार्वजनिक अनुसन्धान र नैतिकताको परीक्षण नगरी केवल 'भाइरल' हुने अनुहारहरूलाई टिकट बाँड्नुले के देखाउँछ भने—रास्वपा नयाँ नेपाल बनाउन होइन,बरु सस्तो लोकप्रियताका भरमा सिट संख्या बढाउन उद्यत छ। यसले गम्भीर नीतिगत बहस गर्नेभन्दा पनि चर्को स्वरमा चिच्याउने र सामाजिक सञ्जालमा मान्छे उचाल्नेहरूको भीड मात्रै जम्मा गरिरहेको छ ।
पर्याप्त सार्वजनिक अनुसन्धान र नैतिकताको परीक्षण नगरी केवल 'भाइरल' हुने अनुहारहरूलाई टिकट बाँड्नुले के देखाउँछ भने—रास्वपा नयाँ नेपाल बनाउन होइन,बरु सस्तो लोकप्रियताका भरमा सिट संख्या बढाउन उद्यत छ ।
यो गठबन्धनको विश्वसनीयतामा लागेको अर्को ठूलो धक्का सभापति रवि लामिछानेमाथि लागेको नैतिक प्रश्न हो । 'घण्टी'लाई पारदर्शिताको प्रतीक मान्ने पार्टीका नेता नै सहकारी ठगीजस्तो गम्भीर प्रकरणमा मुछिनु र अदालतको कठघरामा उभिनुले ठूलो विरोधाभास पैदा गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले कतिपय मुद्दामा प्राविधिक उन्मुक्ति दिए पनि आम नागरिकको बचत हिनामिना भएको दाग यति सजिलै मेटिने छैन। भदौको आन्दोलनमा सडकमा उत्रिएका युवाहरूले 'नयाँ' नेताहरूले राज्य संयन्त्र प्रयोग गरेर आफ्ना मुद्दा सुल्झाउन् भनेर पसिना बगाएका थिएनन् । भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्ने दावी गर्नेहरू नै कानुनी छिद्र खोज्न व्यस्त हुनुले उनीहरू पुरानै प्रवृत्तिको निरन्तरता मात्र हुन् भन्ने पुष्टि गर्छ।
अन्त्यमा,बालेनको रास्वपा प्रवेश कुनै वैचारिक सामिप्यता नभई प्रधानमन्त्री बन्ने महत्वाकांक्षा मात्रै थियो । कुलमान घिसिङको बहिर्गमनले यो 'नयाँ' भनिएको शक्तिको मुखुण्डो उतारिदिएको छ।
त्यस्तै, बालेन्द्र साह (बालेन) को व्यक्तित्व पनि अब गम्भीर प्रश्नको घेरामा छ । पुराना नेताहरूलाई चुनौती दिँदै झापा-५ बाट चुनाव लड्ने आँट प्रशंसनीय देखिए पनि उनको अस्थिर स्वभाव र 'धैर्यताको अभाव' चिन्ताजनक छ। एक पत्रकारको नजरबाट हेर्दा,सामाजिक सञ्जालको चमकधमक भन्दा बाहिर बालेनको कार्यशैली निकै विवादास्पद देखिन्छ। उनीमाथि झनक्क रिसाउने,छिमेकी देशहरूसँगको कूटनीतिक मर्यादा भुलेर चर्को र असभ्य टिप्पणी गर्ने र सार्वजनिक रूपमा सन्तुलन गुमाउने गरेको आरोप लाग्दै आएको छ। एउटा भूपरिवेष्ठित देशको प्रधानमन्त्री बन्ने लक्ष्य राखेका व्यक्तिको यस्तो अपरिपक्व स्वभावले देशलाई कुन दिशामा लैजाला ?
अन्त्यमा,बालेनको रास्वपा प्रवेश कुनै वैचारिक सामिप्यता नभई प्रधानमन्त्री बन्ने महत्वाकांक्षा मात्रै थियो । कुलमान घिसिङको बहिर्गमनले यो 'नयाँ' भनिएको शक्तिको मुखुण्डो उतारिदिएको छ। रास्वपा-बालेन गठबन्धन कुनै क्रान्तिकारी शक्ति होइन,बरु यो त कानुनी संकटमा परेका एक सञ्चारकर्मी र पदका भोका एक सेलिब्रेटीबीचको रणनीतिक सम्झौता मात्र हो । उनीहरूले युवाहरूको आक्रोशलाई चुनावी हतियार त बनाएका छन्, तर उनीहरूसँग ठोस परिवर्तनको कुनै खाका छैन । यदि 'नयाँ नेपाल' को भविष्य पनि पदको झगडा र अस्थिर नेतृत्वमै अडिने हो भने, हामीले पुरानो बेथितिबाट मुक्ति पाएका छैनौं,बरु त्यसलाई अझ चर्को स्वर मात्र दिएका छौं ।