सबै श्रेणीहरू

मध्यरातका ती स्टाटस र स्वस्थानी ब्रतकथा

मध्यरातका ती स्टाटस र स्वस्थानी ब्रतकथा

अलिकति अटेरीपन, अलिकति अराजकता, अलिकति घमण्डपन र अलिकति अनुशासनहीनता मात्र देखाउँदा पनि हजुरबुबा भन्नुहुन्थ्यो— ‘जाऊ नाति, तिमीमा सोमत रहेनछ, बजिरको पसलबाट एक सुकाको सोमत किनेर ल्याऊ।’ अलि ठूलो भएपछि बल्ल बुझ्न थालेँ— सोमत भनेको राम्रो चालचलन र बानीबेहोरा रहेछ। बुझेपछि थाहा भयो, अपाच्य र उपद्रो चालचलनलाई लिएर हजुरबुबाले ममाथि कसिलो व्यङ्ग्य हान्नु भएको रहेछ।

अहिले नेपाली राजनीतिमा पनि एउटा पात्र जन्मिएको छ, जसलाई सात गाउँ–भाँड गाउँमा लुसिफरको नामले चिनिँदैछ। ठ्याक्क उ बेलाको म जस्तै— अर्थात् अटेरी, अल्लारे, असभ्य, घमण्डी र अराजकताको एउटा फुच्चे केटो। मलाई त बेलाबेलामा हजुरबुबाले बजिरको पसलबाट सोमत किनेर ल्याऊ भन्दै सचेत गराउनु हुन्थ्यो, तर यी बेसोमत केटोलाई भने कसले सचेत गराउँछ होला ? के मालपानीको उद्योगबाट अलिकति सोमत किनेर ल्याऊ भनेर भन्न सक्ने कोही छ त ? छैन। किनकि नेपाली जनता अहिले यिनै बेसोमत केटोको पिछलग्गु भएका छन्— जसरी कुनै समय शेरबहादुर, केपी र प्रचण्डहरूको पछाडि लागेका थिए।

शालीनता, भद्रता र सभ्यताको स्वभावलाई स्वाहा गर्दै लोकप्रियताको लिगलिगे दौडबाट नेपाली राजनीतिमा फड्को मारेका यी पात्र झ्यापबाट र्याप हुँदै अहिले चुनावी महासंग्रामको ट्रयापमा छन्। पाँच वर्षभित्र काठमाडौँको कायापलट गरिदिन्छु भनेर मेयर बनेका यिनले दुई वर्षे कार्यकाल बाँकी रहँदै आफ्नो पद र जिम्मेवारीलाई हाप्दै मेयरबाट सिधै प्रधानमन्त्री बन्ने लोभमा राजनीतिक कसरत गर्दै झापातिर हानिएका छन्।

तीन वर्षमा काठमाडौँवासीले के पाए ? समीक्षा हुन जरुरी छ। परन्तु उनको बेसोमत ताप र चापमा परेर फुटपाथे साना व्यापारीहरूको सारा जीवन बेस्वाद बनेका दृष्टान्तलाई सायदै बिर्सन सकिएला। सायदै बिर्सन मिल्ला स्काभेटरका निर्मम बकेटहरूले जिन्दगीभरको कमाइबाट ठडिएका पिल्लरहरू माटोमा मिसाइएका प्रसङ्गहरू। के बिर्सन मिल्ला र ? आश्वासनको र्याप हान्दै ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै काठमाडौँको मन र मत लुटेका ती दिन ?

शासक भएपछि नियम, कानुन, विधान र संविधानको कार्यान्वयनमा सचेत हुनुपर्छ। तर कार्यान्वयनको नाममा आम मानवीय संवेदनाकै संहार गर्न मिल्छ र ? एउटा उन्नत शासकले विधि र व्यवहारलाई सँगसँगै डोर्याउने हो। तर विधिलाई मात्र वैध ठान्ने र व्यवहारलाई सधैँ अवैध मान्नेहरू पक्कै पनि कुशल शासक हुन सक्दैनन्। यिनको शासनकालमा जनता धरधरी रुने अवस्था आयो— र रोयो पनि, यी पात्र अर्थात् बालेनकालमा।

कहिलेकाहीँ मानिसको बोलीले उसको स्वभावको प्रतिनिधित्व गर्छ। कालो चश्मा, कालो पहिरन अनि बोली पनि कालै भएको, कालै कालमा बाँच्ने यिनको स्वभावलाई कसैगरी पनि स्वाभाविक र शालीन मान्न सकिँदैन। यी रातमा बाँच्छन्, रातमा हाँस्छन् अनि रातमै चलमलाउँछन्। हाम्रो समाजमा रातमा बाँच्ने र चलमलाउनेलाई नरपिचास भन्ने गरिन्छ। त्यो कालमा नरपिचास सल्बलाउने नगरे पनि चोर र डाँकाहरू चलमलाउँछन्।

सारा सहर निद्रामा मस्त रहँदा यी त्यही कालो कालमा जुरुक्क उठ्छन् र सामाजिक सञ्जालतिर कालै छाद्न थाल्छन्— अर्थात् कालै लेख्छन् र कालै बोल्छन्। सहजै अनुमान गर्न सकिन्छ— यिनका बोली र स्वभावबीचको तारतम्य। यिनले कुनै बेला ‘सिंहदरबार जलाउनुपर्छ’ भनेर बोले। त्यो बोली मात्र थिएन— त्यो उनको भित्री सच्चा स्वभाव थियो, जुन संकटको बेलामा सतहमा छताछुल्ल भएर पोखियो।

हो, त्यतिखेर यी व्यक्तिगत संकटमा थिए। र संकटकै बेला हो— मानिसको सक्कली स्वरूप प्रकट हुने। जतिसुकै महान् भनिएका व्यक्तित्वहरू पनि अन्ततः संकटकै समयमा आफ्ना महानताको हुर्मत लिँदै आफैँ गुल्टिन्छन्। अन्ततः आफ्नै बेसोमतको बाढीमा यी पनि गुल्टिए र आफैँलाई उदाङ्गो बनाए। 

भदौ २३ र २४ को जेन–जी आन्दोलनमा यिनको भूमिका परोक्ष हुन सक्छ, तर आन्दोलनलाई भड्काउने र उक्साउने काममा यिनको कालो बोलीले प्रत्यक्ष भूमिका निर्वाह गरेको कुरालाई सामान्य मान्न सकिँदैन। एक स्टिक हान्दै, कोठाभित्र लुक्दै सामाजिक सञ्जालमा बर्बरता ओकल्ने यिनको बेसोमतपनले अन्ततः राष्ट्रले विध्वंसको इतिहास कोर्यो।

आन्दोलन एक मोडमा अवतरण पनि भयो। तर यी भने स्विच अफ गरेर धुवाँ उडाउँदै सुशीला कार्कीको नाम जपेर बसे। संसद् विघटनको ¥याप हान्दै झ्याप भए। ७८ जनाले ज्यान गुमाए। तर अचम्म— न यी घाइते अपाङ्गलाई भेट्न गए, न त मृतकका परिवारप्रति श्रद्धाका दुई थुँगा नै अर्पण गरे।

कालो चश्मा, कालो पोशाक र कालो कोठा सायद यिनको सोमत थियो, तर आम जनताका लागि भने त्यो बेसोमत बन्यो। त्यही बेसोमतको पराकाष्ठा मध्यरातमा आएको ‘फु अमेरिका, फु इन्डिया...’ लगायतका फुहरूले उनीभित्रको भूराजनीति बुझ्ने क्षमता फुच्चे भएको प्रमाणित गर्यो। यो विद्रोह होइन— भूराजनीतिप्रतिको अज्ञानताको प्रतिनिधित्व हो।

आफू कुन पद र हैसियतमा छु भन्ने हेक्का नभएको अल्लारेपन स्पष्ट देखिन्छ। भलै यस्ता अभिव्यक्तिबाट अन्ध अनुयायीलाई ‘कुल’ लाग्ला, तर सार्वजनिक पद धारण गरेको व्यक्तिबाट यस्ता भाष्य आउनु किमार्थ स्वीकार्य हुँदैन। कूटनीतिक अभ्यासको मानेमा यस्ता अभिव्यक्ति गैरजिम्मेवार र गैर–विवेकी ठहरिन्छन्। तोरी भाषणबाजीले भीडबाट ताली त पाइन्छ, तर दीर्घकालीन राजनीतिमा तोरीको फूल देख्नुबाहेक केही हुँदैन।

पछिल्लोपटक नोमिनेसन पत्र दर्ता गर्न यी झापा पुगे। आफ्नै समर्थकमाथि जाइ लागे। कुतर्क गर्दै पब्लिक हियरिङबाट कुलेलाम ठोके। अध्यारो कोठाभित्र पनि कालो चश्मा लगाउने यिनलाई जवाफदेहिता भन्ने कुन चराको नाम हो थाहा नहुन सक्छ। मालपानीको ८ करोडको गाडीबारे सञ्चारकर्मीको प्रश्नबाट पनि यी सुइँकुच्चा ठोके।

जतिखेर पनि जुन परिस्थितिबाट पनि भाग्ने यी पात्रलाई कसरी भावी प्रधानमन्त्री मान्न सकिन्छ ? अझ यिनका अन्ध अनुयायीहरूले यिनलाई साहसको जिउँदो प्रतिमा ठान्छन्। झापा–५ रोज्नु नै साहसिक कदम भन्दै बाख्राका पाठाझैँ बुद्रुक्क बुद्रुक्क उफ्रिन्छन्। तर के बालेन साँच्चिकै साहसी हुन् त ?

यदि हुन् भने, लौरो फ्याँकेर किन घण्टी बजायो ? यत्रो साहस भएको मान्छेले किन आफ्नै पार्टी खडा गर्न सकेन ? दुई नागरिकता, दुई पासपोर्ट, चार श्रीमतीधारी, सहकारी ठगीको आरोप झेलेका रविसँग किन घाँटी जोडे ?

साहस त त्यो हो जो एक्लै संघर्षको मैदानमा उत्रिन्छ। अरूको भरमा उभिने त शिखण्डी हो। वास्तवमा बालेन पनि तिनै शिखण्डी हुन्— जो अन्धकारलाई ढाल बनाएर प्रहार गर्छन्। महाभारत साक्षी छ— शिखण्डीहरू कहिल्यै सच्चा योद्धा कहलिएका छैनन्।

हो, यिनको क्रेज दिन दुई गुना, रात चौगुना बढेको छ। स्वास्थानी व्रतकथाको राजा नवराजझैँ यिनको दर्शन गर्न मानिसहरू दौडिरहेका छन्। तर प्रश्न उही छ— सत्ता पाएपछि के यी पनि नवराजझैँ जनतालाई चन्द्रावतीजस्तै छाड्ने त होइनन् ?

बालेन शाह उर्फ बालेन्द्र साह साँच्चिकै देशको नवराजा भए भने यिनको अहंकार, घमण्ड र बेसोमत हर्कतले मुलुक छिन्नभिन्न हुनेछ— यो मेरो सचेत दाबी हो।