नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।
माओवादीको एकता पक्षधर समूहलाई आज पार्टी मुख्यालय पेरिसडाँडामा स्वागत गर्दै उनले विप्लवलाई पनि धेरै यताउता गरेर नभौंतारिन अनुरोध गरेका हुन् । वाम आन्दोलनलाई सुदृढ गर्न कम्युनिष्टहरूको एकता आजको अपरिहार्य आवश्यकता भएको प्रचण्डको भनाइ छ ।
विभिन्न वामपन्थी घटकबीच एकता हुँदै गर्दा विप्लवलाई धेरै प्राथमिकता दिइए पनि उनी वैचारिक रुपमा स्थिर बन्न नसकेको उनले बताए । ‘विप्लवलाई एकतामा ल्याउन पटक पटक गम्भीर छलफल र वार्ता गरेकै हौँ’, प्रचण्डले भने, ‘म उहाँकै निवासमा पुगेर पछिल्लो पटक लामो वार्ता गरेपछि त झन् एकता भइसक्यो भन्ने बुझेको थिएँ, तर त्यस्तो होइन रहेछ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई खुमलटार बोलाएर एकताको लागि अन्तिम निर्णय गरेको स्मरण पनि गरे । ‘उहाँले मलाई जुरुक्क उठेर भावुक हुँदै अंगालो पनि हाल्नुभयो, अब हामी सँगै छौँ भनेपछि मैले पनि तल झरेर साथीहरुलाई ल है एकता हुनेभयो भन्ने जानकारी गराएका थिएँ’, प्रचण्डले थप प्रष्ट्याउँदै भने, ‘तर जेनजी आन्दोलनको वरिपरि उहाँहरु वैचारिक अन्यौलसहित कुनै भूमरी, तुवाँलो हराउनुभयो।’
अझै केही नबिग्रेको बताउँदै उनले विप्लवलाई एकतामा आउन अपील गरेका हुन् । ‘अहिले धेरै यताउता गरेर भौतारिएको जस्तो, निस्सासिएको जस्तो देखिरहेको छु, म फेरि पनि भन्छु, धेरै नभौतारिनुस्, तपाईहरु घर यही (नेकपा)हो, आउनुस्, आत्मसमीक्षा गरेर अघि बढौँ’, उनले थपे ।
कार्यक्रममा विप्लव-प्रकाण्डका विश्वास पात्र मानिने चिरञ्जिवि ढकालसहित माओवादीका दर्जनौँ नेता-कार्यकर्ता नेकपमा समाहित भएका थिए ।