आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्तिका निम्ति एक दर्जन समिति गठन गर्न नेपाली कांग्रेसले मातहतका निकायलाई निर्देशन दिएको छ ।
कांग्रेस उपसभापति एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आज सबै प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएका हुन् ।
पत्रमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति गठन गर्न भनिएको छ ।
त्यस्तै, निजी क्षेत्र समन्वय समिति, १८–३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति पनि गठन गर्न निर्देशन दिइएको छ ।
‘फागुन २१ मा हुने आम निर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रुपले परिचालित गर्न आवश्यक विभिन्न समिति कैयन ठाउँमा गठन भइसकेका छन् । जहाँ गठन भएको छैन, त्यहाँ निम्नानुसारका समिति अविलम्ब गठन गर्न गराउन आग्रहसहित यो परिपत्र पठाइएको छ,’ परिपत्रमा उल्लेख छ ।
यीसँगै अत्यावश्यक अन्य समिति तथा उपसमिति पनि अविलम्ब गठन गरेर केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गरिएको छ ।