कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी चुलिएको छ । चुनावी प्रचार–प्रसार तीव्र बन्दै जाँदा मतदातामाझ कुन दल र उम्मेदवार रोज्ने भन्ने विषयमा बहस शुरु भएको छ । यस निर्वाचनमा आधा दर्जन दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
वी मैदानमा नेकपा (एमाले),नेपाली कांग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी,नागरिक उन्मुक्ति पार्टी,नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी छन् । स्थानीय मतदाताहरूका अनुसार अघिल्ला निर्वाचनको तुलनामा यसपटकको चुनाव अत्यन्तै प्रतिस्पर्धात्मक बन्ने छ ।
एमाले उम्मेदवार वीरेन्द्रकुमार कनोडिया पार्टी संगठनमा आधारित देखिन्छन् । पूर्व कांग्रेसी नेता रहेका कनोडियाको मुख्य शक्ति एमालेको सांगठनिक संरचना नै रहेको विश्लेषण गरिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह २०७९ को निर्वाचनमा पराजित भएपछि पनि निरन्तर जनतामाझ सक्रिय छन् । पछिल्लो समय युवाहरूको उल्लेख्य समर्थन प्राप्त गर्दै उनले आफ्नो चुनावी अभियानलाई मजबुत बनाएको दावी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरिया भने २०७९ को निर्वाचनपछि क्षेत्रमै खासै सक्रिय नदेखिएका पात्र हुन् । अघिल्लो निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका उनी यसपटक ‘बालेन क्रेज’ को प्रभावमा चुनावी मैदानमा उत्रिएको स्थानीयको टिप्पणी छ।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा पूर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रलाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका उनलाई यसपटक २०७९ को प्रदेशसभा निर्वाचनमा ५ मतले पराजित भएका रविदत्त मिश्र र शिवराज नगरपालिकाका पूर्व मेयर प्रत्यक्षी कृष्णकुमार चौधरीको खुला समर्थन प्राप्त छ । यसले उनको उम्मेदवारीलाई थप मजबुत बनाएको चर्चा छ।
नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार एहसान अहमद खाँ संगठनात्मक पकड र मुस्लिम मतदाताको समर्थनमा भर परेका छन् । क्षेत्रको जनसांख्यिक संरचनालाई हेर्दा उनको उम्मेदवारीलाई कमजोर रूपमा लिन नसकिने अवस्था रहेको बताइन्छ ।
Kष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार प्रेमशंकर शुक्ल पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन् । राजासहितको हिन्दु राष्ट्रको एजेन्डा बोकेर उनी मतदातासमक्ष पुगेका छन्, तर यस एजेन्डाले कति प्रभाव पार्छ त्यो पनि चुनावपछि मात्रै भन्न सकिने छ ।
हालको अवस्थालाई हेर्दा निर्वाचन यसैले जित्छ भनेर अहिले नै ठोकुवा गर्न सकिने स्थिति छैन । तर मतदाताको मनोविज्ञान, उम्मेदवारहरूको सक्रियता र स्थानीय राजनीतिक समीकरणले गर्दा कपिलवस्तु क्षेत्र नम्बर ३ को निर्वाचन अन्तिम समयसम्म पनि अत्यन्तै चासोपूर्ण र अनिश्चित रहने देखिन्छ ।