झापा ५ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नुअघि बालेन साह रास्वपा केन्द्रीय कार्यालय घन्टी घर जाँदा जम्माजम्मी १५ मिनेट मात्र बसे । पर्खिरहेका रास्वपाका वरिष्ठ नेताहरूले त्यो दिनसमेत देखिएको बालेनको तुफानी आउजाउ शैलीलाई अचम्म मानेका थिए ।
सभापति रवि लामिछानेले बालेनसँग पहिले औपचारिक गफ गर्ने र केन्द्रीय सदस्यको सपथ खुवाएर संदेश दिने योजना बनाए । तुफानी शैलीका साह महामन्त्री कविन्द्र बुर्लाकोटीलाई फ्यानलाई अटोग्राफ दिएझैँ धकेल्दै हतारमा निस्किएपछि लामिछाने स्वयम् हिस्स बनेका हुन् ।
रास्वपा टिमले सपथ खुवाएर बालेनप्रति पूर्ण अपनत्व लिन खोजेको थियो। तर बालेनले सपथ नलिएर देश दौडाहामा जानुलाई उनले रविलाई नेता स्वीकार्न अप्ठेरो मानेको आशंका रास्वपाको कोर टिममा उठ्न थालेको छ। बालेन दोहोराएर घन्टी घर नजानु, ललितपुरको ज्वागललबाटै अनौपचारिक भेटघाट गर्नुलाई समेत आशंकपूर्ण ढंगले हेरिएको छ ।
भनिन्छ, बालेन एकदमै सावधान हुने, साइत हेर्ने, जोखाना देखाउने स्वभावका व्यक्ति हुन्। बालेनका स्वकीय सचिव तथा सहयोगी भुपदेवका अनुसार उनी रास्वपाको मानार्थ सदस्य मात्रै हुन्। यता बालेनको टिमलाई दिने भनिएको महामन्त्री र सहप्रवक्ता समेत हालसम्म दिइएको छैन। अहिले दिइए पनि उक्त हैसियत निर्वाचन आयोगमा आधिकारिक रूपमा अभिलेखीकरण हुने अवस्था छैन ।
विश्लेषकहरूको आफ्नै खालको जोडघटाउ छ । कतिपयले बालेन रास्वपाको सदस्यता नलिइ सोझै संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने सोचमा रहेको बताउँछन् । कतिपयले फरक स्वभावका उनले चुनाव अगावै सनसनीपूर्ण निर्णयसमेत लिनसक्ने आशंका गरेका छन् ।