वडा सम्मेलनमा जाँदा रास्वपा नेताको गाडी तोडफोड

वडा सम्मेलनमा जाँदा रास्वपा नेताको गाडी तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ । 

पार्टीको वडा सम्मेलनका निम्ति गोरखाको भिमसेनथापा गाउँपालिका–३ पुगेका उनको बा.प्र. ०१–०२५ च ७०३० नम्बरको गाडी गएराती तोडफोडमा परेको हो । चउरमा पार्किङ्ग गरेर राखिएको अवस्थामै अज्ञात समूहले गाडीको सिसा फुटाएको बताइएको छ । 

गोरखा प्रहरीका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति नै गाडी तोडफोड भएको भएपनि आज बिहानमात्र प्रहरीले खबर पाएको हो। कसैले नियोजित रुपमा भन्दा पनि मापसे गरेको समूहले सिसा फुटाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

हिजो माघे सङ्क्रान्तिको अवसरमा सोही चउरमा गोरु जुधाई र फुटबल कार्यक्रम भएको थियो । त्यसैमा सहभागी हुन आएका व्यक्ति वा मापसे समूहद्धारा त्यस्तो हर्कत भएको हुनसक्ने डिएसपी श्रेष्ठले अनुमान गरे। 

‘गाडी राती ११ बजेतिर तोडफोड भएको देखिन्छ । यसले कार्यक्रममा ढिलोसम्म बसेका व्यक्ति वा मापसे समूहबाट तोडफोड भएको हाम्रो अनुमान छ,’ उनले भने, ‘गाडीको पछाडिको मात्र सिसा फुटाइएको हुनाले नियोजित वा रिसिबी साँध्नभन्दा पनि होशमा नभएर गरिएको देखिन्छ ।’ 

यद्यपि, यससम्बन्धमा अनुसन्धान जारी रहेको उनको भनाइ छ ।
 

टिप्पणीहरू