काठमाडाैं महानगरमाथि कर लिएकाे, सुविधा नदिएको आराेप
काठमाडौं महानगरपालिकासहित विभिन्न सरकारी निकायविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सरकारले कर मात्र लिएको तर पार्किङ्गको सुविधा भने नदिएको भन्दै अधिवक्ता डा.प्रेमराज सिलवालले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महानगर, ट्राफिक प्रहरी कार्यालयलगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । पार्किङ्ग नहुँदा सवारी चालकलाई समस्या भएको उनको भनाइ छ ।
‘निजी सवारी चालक र उपभोक्तामाथि ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका र सरकारी निकायका व्यक्तिहरु चौतर्फी तीन सय प्रतिशतसम्म कर लिने तर पार्किङ्गको लागि स्थान उपलब्ध नगराउने गरि घोर अन्याय गरेका छन्’,उनले भनेका छन्,‘सीमित समय सवारी पार्किङ्ग गर्न दिने, ह्वीललक गर्ने र सवारी तोडफोड हुनेगरी उठाउने र मनपरी जरिवाना गर्ने गरेका छन् ।’
चीनको बेइजिङ र भारतको दिल्लीस्थित पार्किङस्थलको उदाहरण दिँदै उनले काठमाडौंमा मेघा पार्किङस्थलको निर्माण गर्ने आदेश गर्न माग गरेका छन् । त्यसैगरी, ‘न्याय तथा समन्याय’ हुनेगरी पार्किङ्गको व्यवस्था गर्न भनिएको छ । रिटको पेशी माघ ४ गते तोकिएको छ ।

टिप्पणीहरू